Logo

विपत्तिमा ‘लापत्ता’ बनेका ओली सरकारका मन्त्रीहरू १० दिनपछि देखा परे



काठमाडौं। नागरिक बाढीपहिरोको पीडामा परेको १ हप्तापछि केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरू बल्ल फिल्डमा देखिन थालेका छन्। गत शनिबार र आईतबार बाढीपहिरोले काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। त्यतिबेला ‘लापत्ता’ बनेका ओली सरकारका मन्त्रीहरू नागरिकले आफ्नो पीडामा आफै मलम लगाउन थालेपछि फिल्डमा प्रकट भएका हुन्।

विपद्मा नागरिकको पीडामा मलम लगाउन चुकेका गृहमन्त्री रमेश लेखक आईतबार बाढीपहिरो अति प्रभावित ललितपुरको गोदावारी क्षेत्रमा देखा परेका छन्। बाढीपहिरो प्रभावित गोदावरी क्षेत्रका पीडित नागिरमाथि ‘भिजिबिलिटी’ पुग्न थालेपछि उनी बाढीपहिरोले बितण्डा मच्चाएको १ हप्तापछि फिल्डमा देखा परेका हुन्।

कांग्रेस सांसद उदय शम्शेर राणा र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई साथमा लिएर गृहमन्त्री लेखक गोदावरी क्षेत्रको बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा पुगेका हुन्। गोदावरीमा जथाभावी प्राकृतिक दोहन गर्न दिएर प्राकृतिक विपत्ति निम्त्याउने मेयर महर्जनलाई साथमा लिएर गृहमन्त्री लेखक फिल्ड निरीक्षणमा पुगे। मेयर महर्जनले गोदावरी क्षेत्रका वनपाखामा जथाभावी दोहन गर्न नदिएको र डाँडा तास्न नदिएको भए उक्त क्षेत्रमा यति ठूलो क्षति हुँदैन थियो। प्राकृतिक दोहनमा मुख्य जिम्मेवार गोदावरी नगरपालिकाका उनै मेयर महर्जनको साथमा गृहमन्त्री लेखक गोदावरी क्षेत्रको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका हुन्। निरीक्षणका क्रममा १ हप्तापछि फिल्डमा पुगेका उनले ३ दिनभित्र क्षतिको विवरण पठाउन निर्देशन समेत दिन भ्याएका छन्। गृहमन्त्री लेखकले लेलेको आनन्दवन अस्पताल पनि पुगेर गफ चुट्न भ्याए।

त्यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल पनि बल्लतल्ल फिल्डमा गएका छन्। ओली सरकारका स्वास्थ्यमन्त्री पौडेल आईतबार बाढीपहिरो प्रभावित काभ्रेपलाञ्चोक जिल्ला पुगेका हुन्। बाढीपहिरो गएको १ हप्तापछि फिल्डमा देखा परेका स्वास्थ्यमन्त्री पौडेलले धुलिखेल अस्पतालमा उपचाररत बिरामीको नि:शुल्क उपचार र सेवाको गुणस्तरबारे जानकारी लिँदै पूर्ण निको नहुँदासम्म सरकारले उपचार गर्ने प्रतिबद्धता जनाए। बाढीपहिरोले बितण्डा मच्चाएको १ हप्तापछि बल्ल स्वास्थ्यमन्त्री पौडेल निरीक्षणका लागि प्रभावित क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक, धुलिखेल र पनौती पुगेका हुन्।

बल्लबल्ल फिल्डमा पुगेर स्वास्थ्यमन्त्री पौडेलले विपद्का कारण स्वास्थ्य केन्द्र भत्किएर टेन्टमा उपचार सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीका समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिए।  विपद्को १ हप्तापछि बल्ल स्वास्थ्यमन्त्री पौडेलले संक्रामक रोग फैलन नदिन मन्त्रालयबाट वितरित शुद्धिकरण तथा सरसफाइका सामग्री प्रभावकारी वितरण गर्न र स्वास्थ्य सचेतना फैलाउन विशेष आग्रह गर्दै आवश्यक थप सहयोग तत्काल उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। जुन कुरा भन्न ढिला भइसकेको छ।

ओली सरकारका खानेपानीमन्त्री प्रदिप यादव भने शनिबार नै बाढीपहिरो प्रभावित क्षेत्र ललितपुर पुगेका थिए। बाढी प्रभावित क्षेत्र ललितपुरका जनतालाई खानेपानी खुवाउन उनी काठमाडौंको दक्षिणकाली नगरपालिका समेत पानी माग्न पुगेका थिए। खानेपानीमन्त्री यादवको पहलमा बाढी प्रभावित ललितपुरमा दक्षिणकालीको पानी झर्न थालेको छ। उनले विपद्मा खानेपानी र सरसफाईमा विशेष ध्यान दिन आग्रह गरे।

गृहमन्त्री, स्वास्थ्यमन्त्री र खानेपानीमन्त्रीबाहेक ओली सरकारका अन्य मन्त्रीहरू फिल्डमा देखा परेका छैनन्। मुलुकमा बाढीपहिरोले बितण्डा मच्चाउँदा प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामै थिए। बाढीपहिरो मथ्यर हुँदै गएपछि स्वदेश फर्किएका प्रधानमन्त्री ओली अहिलेसम्म प्रभावित क्षेत्रमा देखा परेका छैनन्। काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बाढीपहिरोले बितण्डा मच्चाउँदा गृह जिल्ला स्याङ्जामा पञ्चेबाजा र अबिर जात्रामा रमाइरहेका मुख्यसचिव एकनारायण अर्याल पनि विपद्मा खटिएका कर्मचारी र सुरक्षाकर्मीको मनोबल बढाउन अहिलेसम्म फिल्डमा पुगेका छैनन्। सुरक्षा निकायका प्रमुखहरुको हालत पनि उस्तै छ। यस्तै अवस्था देखेर राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेत ज्ञानेन्द्र शाही मुलुक फेलियर स्टेटको अवस्थामा पुगेका टिप्पणी गर्छन्।



प्रतिक्रिया दिनुहोस्