Logo

संवेदनाहीन सरकारः उद्दारमा बेपत्ता हेलिकप्टर राहत बाँड्न प्रयोग गरिने



काठमाडौं, २० असोज । गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उनले हेलिकप्टर प्रयोग गरेर भएपनि राहत वितरण गर्न निर्देशन दिएका हुन् । गृहमन्त्री लेखकले ललितपुरमा बाढी पहिरोमा परि मृत्यु हुने ४५ जनामध्ये ३९ जनाले दुई लाख रुपैयाँ पाइसकेको बताए ।

‘विपदको समयमा सबै गुनासा र विमतिलाई थाती राखेर सबै मिलेर एककार भएर काम गर्नुपर्छ । ललितपुरमा ४५ जनाको मृत्यु भएको तथ्याङ्क छ । सरकारले दिने दुई लाख राहत ३९ जनाले पाउनुभएको छ । बाँकी छ जनाले पनि तत्कालै पाउनुहुन्छ । पूर्ण रुपले घर क्षति भएका पाउन योग्य लाभग्राहीको नाम स्थानीय तहबाट तत्कालै पठाउनुस्, प्राधिकरणले नाम प्राप्त गरेको तीन दिनभित्र लाभग्रागीलाई पैसा पठाउँछ,’– उनले भने ।

ललितपुरको नख्खु खोला छेउको जस्ताको टहरोमा बसेर चार जनाले चार घण्टासम्म गुहार माग्दा पनि उद्दार पाएनन् । अन्ततः उनीहरुलाई बाढीले बगायो । नख्खु खोलाको बाढीमा बगेका चार जनामध्ये एक जना केही तल पुगेर आफैं पौडिएर उत्रिन सफल भए । अन्य दुई जनालाई काभ्रेका चणिकलाल तामाङले उद्दार गरे । सो बाढीले बगाएका एक जना अझै बेपत्ता छन् । सरकारले उद्दारमा कुनै पहल लिन सकेन ।

त्यस्तै, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर भारी वर्षा हुने पूर्व सूचना दिइसकेको थियो । शुक्रबारदेखि सुरु भएको वर्षा झन–झन बढ्दै जाँदा सरकारी संयन्त्रहरु मौन थिए । प्रधानमन्त्री केपी शर्मा ओली गत असोज ४ गते नै अमेरिकामा आयोजित संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएका थिए ।

त्यस्तै, कर्मचारीतन्त्रको सुप्रिम कमाण्डर रहेका मुख्यसचिवसमेत सम्भावित विपत्तिलाई बेवास्ता गर्दै गृहजिल्ला स्याङ्जामा सम्मान खानमा ब्यस्त थिए । जनता बाढीमा फसेर जीवनको भिख माग्दै बसेका थिए । सरकार बेखबर थियो । सरकारले सकृयता देखाएर उद्दारमा राज्यका संयन्त्र प्रयोग गर्न सकेको भए धेरै नागरिकको ज्यान बचाउन सकिन्थ्यो । त्यस्तै, भारी वर्षको पूर्व सूचना पाएको सरकारले रात्री बस नचलाउन निर्देशन जारी गर्यो । तर, रात्री बस रोकिएन । जसका कारण धादिङको झ्याप्ले खोलामा चार वटा बस पुरिँदा ३५ जनाले ज्यान गुमाउन पर्यो ।

प्राकृतिक विपत्तिपछिको उद्दार र पुनर्स्थापनासमेतलाई बेवास्ता गरेको सरकार अहिले राहत बाँड्न भने हेलिकप्टर प्रयोग गर्ने तयारीमा छ । सरकारको यस प्रकारको कार्यशैलीले जनआक्रोश बढ्दो छ । विपत्तिमा जनताले सरकार भएको महशुस नै गर्न पाएनन् । यतिसम्मकी सरकारले सर्वदलीय बैठक बोलाउनेसम्म चासो नदेखाएपछि प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वदलीय बैठक बोलाए ।

प्रचण्डको एक्सनपछि लाज पचाएर सरकारले सर्वदलीय बैठक बोलायो । यता विपत्तिमा नागरिकको बेहाल भइरहँदा प्रधानमन्त्री ओली भने अमेरिकाको विभिन्न कार्यक्रममा लाज पनि लजाउने गरी भद्दा मजाक गरिरहेका थिए । उनी नेपाल फर्किएपछि पनि विपत्तिमा संयमित देखिएनन् । उनले एयरपोर्टमा आयोजित पत्रकार सम्मेलनमा सोधिएका प्रश्नमा अन्टसन्ट उत्तर दिए ।

यसरी, संविधान संशोधनसमेतको धमास दिइरहेको दुई तिहाइको औकात अविरल वर्षाको क्रममा उद्दारका लागि भएको पहल, खोजी, पुनर्स्थापनालगायतका गतिविधिमा देखिइएको छ । सरकार जनताप्रति उत्तरदायी छैन भन्ने कुराको यो बलियो प्रमाण पनि हो । विपत्तिको एक हप्ता वितिसक्दा पनि काठमाडौं उपत्यकाभित्रै राहत, पुनर्स्थापना, खोजीलगायतका काम हुन सकेको छैन भने दुरदराजमा सरकारको उपस्थिति के होला भनेर सहजै अनुमान गर्न सकिन्छ ।

काठमाडौं महानगरले सुकुमबासी बस्ती हटाउन पटक–पटक प्रयास गरेपनि भोटको राजनीतिका कारण असफल भएको थियो । सुकुम्बासी बस्ती हटाउनै खोजेको विषयमा प्रधानमन्त्री ओली र महानगरप्रमुख बालेन्द्र शाहबीच वाक युद्द नै चल्यो र अहिले पनि चलिरहेको छ । सुकुम्बासी बस्तीको भोटमाथि एमाले र माओवादीको लोभले गर्दा धेरै धनजनको क्षति भयो भन्दा अन्यथा नहोला । File Photo/RN



प्रतिक्रिया दिनुहोस्