Logo

यस्तै अवस्था रहे दशैंलगत्तै सरकार छाड्ने रेशम चौधरीको घोषणा



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकासंरक्षक रेशमलाल चौधरीले सरकारमा आफ्ना मन्त्रीलाई भूमिकाबीहिन बनाइको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । जन्मदिनको अवसरमा आज एक भिडियो सन्देश जारीगर्दै चौधरीले यस्तै अवस्था रहे दशैंलगत्तै सरकार छाड्ने घोषणासमेत गरेका छन् ।

उनले राज्यमन्त्री अरुण चौधरीलाई भूमिका विहीन बनाएको असन्तुष्टि व्यक्त गरेका छन् । ‘अधिकार दिनुहोस्, जनताको बिचमा जाने अवसर दिनुहोस् भन्दा भन्दै ठुला दलले सुनिरहेको अवस्था छैन । ठुला दलले यो कुरा नसुन्ने हो भने केन्द्रीय कमिटीको बैठकबाट निर्णय गरेर जनतामा जान्छौँ ’ उनले भनेका छन् ‘दसैँ पछाडिबाट हामी सहभागी हुन्नौ ।’

पूर्व सांसदसमेत रहेका चौधरीले आफ्नो चाहना कहिल्यै पनि सत्तामा पुग्ने नभएको दाबी गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि केही गर्न सकिन्छ कि भनेर मात्र समर्थन गरेरर सरकारमा सामेल भएको जिकिर गरेका छन् । ‘मेरो चाहना सुरुबाटै सरकारमा सहभागी हुनु होइन । सरकारमा सहभागी हुने जनतालाई म्यान्डेट दिएका छैनन् । जनप्रतिनिधिहरूको मागले गर्दा प्रदेश र सङ्घमा गएका हौँ ’ उनले भने, ‘ सङ्घको सरकारमा हामी असफल रह्यौँ । स्वर्गद्वारी गुटी न्यायोचित न्याय दिन सकेनौँ, मुक्त कमैयाहरूलाई लालपुर्जा वितरण गर्न सकेनौँ ।’

नाउपाको संघीय संसद्मा चार,सुदूरपश्चिममा सात, लुम्बिनीमा चार र मधेश प्रदेशमा एक सांसद छन् । अहिले सङ्घमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुण चौधरी र सुदूरपश्चिम प्रदेशमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा लक्ष्मण किशोर चौधरी छन् । रेशम चौधरीले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी निर्णायक हुँदा हुँदै अधिकार नदिएको बताएका छन् ।

कांग्रेस र एमाले मिलेर सत्ता गठबन्धन बनाउनु अघिसम्म नाउपा सुदूरपश्चिममा सरकार बनाउने र गिराउने रिमोर्ट बनेको थियो । ७ सांसद रहेको सुदूरमा एक समय नाउपाका ६ जना सांसद मन्त्री बनेका थिए । तर,ओली नेतृत्वमा संघीय सरकार बनेपछि सुदूरमा दुई दलको सहज बहुमत पुग्ना नाउपाको बार्गेनिङ पावर समाप्त भएको थियो ।

उनले पार्टीका केही स्वार्थी सांसदका कारण सुदूरपश्चिम प्रदेश संसदीय दल विभाजित भएको त्यही कारण मुख्यमन्त्री गुमेको बताएका हुन्।

‘धेरैले भने– सुदूरपश्चिममा तपाईंहरूले मुख्यमन्त्री लिन सक्नुपर्थ्यो; तपाईंहरूका कमजोरीका कारण पाउनुभएन। हो, हाम्रा कमजोरीका कारण हामीले थारू मुख्यमन्त्री गुमाएकै हौं। के थारू मुख्यमन्त्री बनाउन रेशम चौधरीले सांसदहरूको पिछा गरेन? दुई भागमा पार्टीलाई विभाजन गर्ने; के रेशम र रञ्जिताको मात्रै अभिलासा थियो? होइन! होइन हामी केही स्वार्थी जनप्रतिनिधिहरूले पार्टीको अभिष्टिच्छा, पार्टीको कार्यदिशा र उद्देश्यलाई बुझ्न सकेनौं,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्