Logo

निर्देशन अवज्ञा गर्ने तीन वटा सञ्चारमाध्यमलाई प्रेस काउन्सिलले राख्यो कालोसूचीमा



काठमाडौं । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ३ सञ्चार माध्यमलाई कालोसूचीमा राखेको छ । एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामाग्री सम्प्रेषण गरेको भन्दै ती सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको हो ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिको निर्णयअनुसार ती सञ्चारमाध्यमलाई कारवाही गर्ने निर्णय गरेको हो ।

काउन्सिलले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी गत साउन महिनायता हिंसा, आतंकलाई प्रश्रय पुग्ने, हुँदै नभएको निराधार, अफ्वाह फैलाउने, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिई जनमानसमा भ्रम फैलाउने, त्रसित तुल्याउने विरुद्ध कारवाही तिव्र पारिएको जनाएको हो ।

गत चैत २० गते काउन्सिलले युट्युब व्यवस्थापन, सूचीकरण र अभिलेखिकरणसम्बन्धी कार्यविधि बनाई नियमित अनुगमन र कारवाही गर्दै आएको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा युट्युबसहित विभिन्न अनलाइन सञ्चारमाध्यमलाई भएका कारवाहीबारे जनाइएको छ ।

काउन्सिलले साउन यता मात्र आचारसंहिता पालना गर्न दिइएको निर्देशन पालना नगर्ने ३ वटा सञ्चारमाध्यमलाई अवज्ञाकारीको कालोसूचीमा राखेको छ । त्यस्ता सञ्चारमाध्यम राज्य तहबाट पाइने कुनै पनि सुविधा पाउनबाट वञ्चित हुनेछन् । कालोसूचीमा पर्ने सञ्चारमाध्यममा एबीपी क्राइमन्यूज डट कम, टीभिअन्नपूर्ण डटकम र सेतोखरी डटकम छन् ।



प्रतिक्रिया दिनुहोस्