Logo

पर्यटन राज्यमन्त्री चौधरीका प्रेस सल्लाहकार दानी पक्राउ, यस्तो छ कारण



काठमाडौं । पत्रकारको आवरणमा आपराधिक लाभ लिएको अभियोगमा अश्विन दानी पक्राउ परेका छन् ।उनीमाथि डर त्रास देखाएर रकम माग गरेको जाहेरीका आधारमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार काठमाडौं कपनबाट पीडितसँग लिएको रकमसहित असोज २२ गते पक्राउ गरिएको हो ।

नागरिक उन्मुक्ति पार्टी निकटको पत्रकार संघका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीका प्रेस सल्लाहकारसमेत रहेका दानीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकूले नियन्त्रणमा लिएको हो ।

यसअघि उनीविरुद्ध नुवाकोटमा ठगी मुद्दा रहेको अनुसन्धानको अभिलेखबाट खुलेको छ । चन्द्रबहादुर तामाङको जाहेरीले ठगी मुद्दामा प्रतिवादी कायम भई अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटको अभिलेखमा देखिएको स्रोतको भनाइ छ ।

उनलाई मुगा माला, टल्कने पत्थर लगायतका बहुमुल्य वस्तु ठगी गरेको आरोपमा गोरखाकै भिमसेन थापा गाउँपालिका–८ का अर्जुन कुमालसँगै जिल्ला प्रहरी कार्यालय नुवाकोटले गत चैतमा पक्रेको थियो । पछि उनी धरौटीमा रिहा भएका थिए ।

गोरखाका दानी कुनै समय सत्तारुढ दल नेकपा एमाले निकटको प्रेस चौतारीका जिल्ला अध्यक्ष थिए । उनी पञकार संघको सबैभन्दा कान्छो जिल्ला अध्यक्षसमेत बनेका थिए । मुगा र माला चोरीको काण्डपछि उनलाई प्रेस चौतारीले संगठनबाट निकालेको थियो । त्यसपछि उनी नाउपामा लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्