Logo

शेरबहादुर देउवाले चाहुन्जेल कांग्रेस-एमाले गठबन्धन रहिरहन्छः एमाले सचिव महासेठ (भिडिओसहित)



काठमाडौं, २३ असोज । नेकपा (एमाले) का सचिव एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले कांग्रेस–एमाले नमिल्दा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको दुई वर्ष खेर गएको टिप्पणी गरेका छन् । हिजो (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमालेको पहिले नै आउनु पर्ने बुद्धि ढिलागरी आएको बताएका हुन् ।

‘एमाले–कांग्रेसको बीचमा चुनाव पछाडि नै गठबन्धनमार्फत सरकारमा आउनुपर्ने हो । तर, यी दुई ठूला पार्टीहरुको बुद्धि अलि पछाडि आयो । सुरुमै एमाले र कांग्रेस मिलेर सरकार बनाएको भए यो दुई साल समय खेर जाने थिएन,’– एमाले सचिव महासेठले भने ।

वर्तमान सरकार बनेको एक सय दिन पनि भइनसकेको बताउँदै उनले यसले देश र जनताको पक्षमा काम गर्ने दाबी गरे । कांग्रेस–एमालेसहितको गठबन्धन सरकारभन्दा अहिले दोस्रो कुनै विकल्प नै हुननसक्ने उनको भनाइ छ ।

साथै, उनले प्रचण्डको समयमा विग्रिएको काम मर्मत गर्न समय लाग्ने बताए । कांग्रेस–एमालेसहितको गठबन्धन तोड्न केही शक्ति लागेको भएपनि त्यो सम्भावना अहिले नरहेको बताए । २०७९ को निर्वाचनपछि कांग्रेस–एमाले मिल्न नसक्दा प्रचण्डले दुईवटै दललाई नचाएर खेल्न पाएको उनले बताए । एमालेले वर्तमान सत्ता गठबन्धन कहिले पनि नतोड्ने उनको भनाइ छ । महासेठले कांग्रेसले चाहेसम्म यो सरकार अगाडि बढ्ने बताए ।

‘हिजोको परिस्थिति र आजको छुट्टै छ । हिजो ३२ सिट जितेको माओवादी केन्द्रले कांग्रेस र एमालेलाई नचाई–नचाई आफू कुर्सीमा बसेको थियो । त्यही कुरा २०७९ को चुनाव पछाडि नै एमाले र कांग्रेस बुझेको भए, यी दुईवटा पार्टीका नेता, खासगरी कांग्रेसका नेताले बुझेको भए आज यो देश छुट्टै हुने थियो ।’ उनले भने, ‘कांग्रेसका सभापति शेरबहादुर देउवा पनि अनुभवी हुनुहुन्छ । पटक–पटक प्रधानमन्त्री भइसक्नु भएको छ । कांग्रेस एमाले मिलेर नै बाँकी अवधि चलाउनुपर्छ, त्यो अडानप्रति म उहाँलाई सम्मान गर्छु । एमालेले गठबन्धन तोड्दैन, ढुक्क हुनुस् । तोड्ने भनेको कांग्रेसले हो । अब कांग्रेसमा जबसम्म सभापतिजी चाहनुहुन्छ, यो गठबन्धन रहन्छ । कांग्रेसमाथि निर्भर छ यो गठबन्धन कति दिन लाने ?’



प्रतिक्रिया दिनुहोस्