Logo

उर्जा क्षेत्रलाई बुझ्ने मन्त्री दीपक खड्काबाहेक अर्को आउँदैनः इप्पान अध्यक्ष कार्की (भिडिओसहित)



काठमाडौं, २४ असोज । स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली उर्जा क्षेत्रको विकासमा एकदमै सकारात्मक पाएको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकार नै उर्जा क्षेत्रको विकासमा सकारात्मक रहेको बताएका हुन् । उनले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का उर्जा क्षेत्रलाई बुझेको र राम्रो परिवर्तन गर्नसक्ने मन्त्रीको रुपमा चित्रण गरे ।

‘प्रधानमन्त्रीज्यू उर्जा देशभित्र खपत गर्नुपर्छ, बढी भएको बिजुली बेच्नुपर्छ भनेर एकदमै पोजेटिभ हुनुहुन्छ । अर्थमन्त्रीज्यूको कुरा सुन्नभयो भने उहाँ उर्जा मन्त्रालय सम्हालेर गइसक्नु भएको, उर्जाको बारेमा विज्ञ हुनुहुन्छ । उर्जामन्त्री र राज्यमन्त्रीको कुरा गर्नुभयो भने, हिजोको दिनमा मन्त्रीहरुले बुझेका हुँदैन थिए, नबुझ्नेबित्तिकै कार्यकर्ताहरु र पार्टीका मान्छेले एउटा कुरा, कर्मचारीहरुले अर्कोथरी र सल्लाहकार भन्नेहरुले अर्कोथरी बुझाउँथे । त्यसले गर्दा मिस गाइड भएको हो कि जस्तो हुन्थ्यो । तर अहिलेको मन्त्रीलाई जसले जे भनेपनि उर्जा भनेको के हो ? उर्जाको कसरी विकास गर्नुपर्छ भन्ने कुरा उहाँले बुझ्नु्भएको छ । उहाँले पनि बुझ्नुभएन भने यो देशमा अर्को मान्छे आउँदैन,’– उनले भने ।

उर्जा मन्त्रालयका अनुसार नेपालमा दुई लाख मेगावाटसम्म विद्युत उत्पादन हुनसक्ने उनले बताए । उत्पादनसँगै बजारीकरणको पनि सुरुवात भएकाले यो क्षेत्रमा सरकारले बढी लगानी गर्नुपर्ने उनले बताए । ‘पहिला देशभित्र खपत गर्ने र अरु बढी भएको कहाँ लाने भन्ने कुरा थियो । भारतले पनि किन्छु भन्यो, बंगलादेशले किन्छु भन्यो । केहीले काहीँ कुरा सुन्दा चाइनाले पनि किन्छु भन्दैछ । भनेपछि बिक्रि त हुनेरहेछ भन्ने भयो नि,’– उनले भने ।

नेपालभित्र पनि अहिलेभन्दा ५ गुणा बढी विजुली खपत हुने उनले बताए । उत्पादनलाई प्राथमिकता दिन नसकेको खण्डमा भारतले किन्छु भनेको विजुली दिन नसकिने दिन आउन पनि सक्ने उनले बताए ।

‘भारतले विजुली किन्छु भनिराखेको छ । किन्छु त भनेको थियौं, तिमीहरुले विजुली दिन सकेनौं भन्ने दिन आउँछ कि भन्ने लाग्छ । बंगलादेशकै कुरा छ, अहिले ४० मेगावाट गयो । ४० मेगावाटमात्रै होईन, यो त ४ हजार मेगावाट जान्छ, दुई वर्षपछि,’– अध्यक्ष कार्कीले भने ।



प्रतिक्रिया दिनुहोस्