Logo

कुलमानले नीतिगत र कार्यान्वयनको तहमा कमजोरी गरेको एमाले नेताको आरोप, सरकारले हटाउनै खोजेको हो त ? (भिडिओसहित)



काठमाडौं, २४ असोज । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङको नीतिगत र कार्यान्वयनको तहमा कमजोरी देखिएकाले स्पष्टीकरण सोधिएको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कुलमानमाथि उठेका प्रश्नहरुको निरुपणका लागि नै सरकारले स्पष्टीकरण सोधेको बताए । कुलमानले जनताबाट प्रसंशा र वाहीवाही पाइराखेको कारण उनले गलत गर्न पनि पाउनुपर्छ भन्ने नहुने नेता गैरेले बताए ।

‘प्रसंशा पाइराखेको अवस्था हुँदाहुँदै पनि नीतिगत र कार्यान्वयनको तहमा सरकारको औपचारिक आँखाबाट कमजोरी देखापरेका छन् भने त्यो कमजोरी वास्तविक हो कि होईन ? ती प्रश्नहरुमा उहाँको भनाई के हो ? यो विषयमा सरकारले स्पष्ट हुनुपर्छ । त्यसका लागि सरकारले स्पष्टीकरण सोधेको छ । उहाँले राम्रो काम गरेकाले नराम्रा काम गर्न पनि पाउनुपर्छ भन्ने होईन,’– उनले भने ।

त्यस्तै, स्पष्टीकरण सोधेको विषयलाई उनलाई हटाउन खोजेको भनेर बुझ्न पनि नहुने नेता गैरेको भनाइ छ । वर्तमान सरकारले साना–साना होटलदेखि सबै ठाउँमा अनुगमनलाई तिब्रता दिइराखेको र सरकार सुशासनको पक्षमा रहेकाले कमजोरी देखिएको ठाउँमा कमजोरीको मात्राअनुसार सुधारका लागि निर्देशन, स्पष्टीकरण र कारबाहीका कामहरु भइरहेको उनले बताए ।

‘स्पष्टीकरण सोध्ने भनेको हटाउने अर्थमै बुझिहाल्नु हुँदैन । तर, हामीले सुशासनको कुरा गर्दा देशका सबै अंगहरुमा, सबै नेतृत्व तहमा अनुगमन भइरहेको छ । बाटोमा होटल चलाएर बस्नेकोमा पनि अनुगमन र मूल्याङ्कन भइराखेको छ । सानोदेखि ठूलोसम्म, माथिदेखि तलसम्म सरकारले काम गर्ने प्रक्रियामा राम्रो काम गर्नेलाई प्रोत्सहान गर्ने, कमी भएको छ भने सच्याउनका लागि पहल कदमी गर्ने, औपचारिक रुपमा स्पष्टीकरण गर्नुपर्नेछ भने स्पष्टीकरण गर्ने, यो नियमित हुने कुरा हो, हुनुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्