Logo

सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई कारबाही गर्ने/नगर्ने कुरा गृहमन्त्री लेखकलाई सोध्नुस्ः सूर्य थापा



काठमाडौं, २७ असोज । नेकपा (एमाले) का नेता एवं सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा कारबाहीको लागि सिफारिस गरिएको बताएका छन् ।

आज (आइतबार) नेपाली रेडियोे नेटवर्कका नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसदीय विशेष समितिले कारबाहीका लागि स्पष्ट रुपमा सिफारिस गरेको र अब कारबाही गर्ने नगर्ने कुरा सरकारको हातमा रहेको बताए । सहकारी ठगी प्रकरणमा अब रवि लामिछानेलाई कारबाही गर्ने वा नगर्ने कुरा गृहमन्त्री रमेश लेखक र सरकारलाई सोध्न उनले आग्रह गरे ।

‘अब यो कुरा मलाई सोध्ने होईन । अब गृहमन्त्री रमेश लेखकलाई सोध्नुस् । कहिले कारबाही गर्नुहुन्छ ? सरकारलाई सोध्नुस् । संसदीय समितिका हिसाबले हामीले आफ्नो काम पूरा गरेका छौं । सात जनाको संसदीय छानविन विशेष समितिले सर्वसम्मतिले कारबाहीको सिफारिस गरेका छौं । कसलाई कारबाही गर्नुहुन्छ, गर्नुहुन्न । कहिले गर्नुुहुन्छ ? यो चाहिँ अथोरिटीलाई कुरा गर्नुपर्छ । मैले आफ्नो कर्तव्य पूरा गरिसकेको छु,’– उनले भने ।

साथै, संसद्मा प्रतिवेदन बुझाइसकेपछि पनि आफूले गृहमन्त्री लेखकलाई भेटेर कारबाहीको बारेमा छलफल गरेको उनले बताए । मन्त्री लेखकले कारबाही अगाडि बढ्छ भनेर आश्वासन दिएको पनि उनले बताए । गृहमन्त्री लेखकले यो प्रतिवेदन कार्यान्वयन नगरेको खण्डमा आश्चर्य हुने उनले बताए । ‘रमेश लेखक गृहमन्त्री हुँदा नै यो प्रतिवेदन अगाडि बढेन भने आश्चर्य हुनेछ, त्यो आश्चर्यको अहिले परिकल्पना नगर्नुस्,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्