Logo

एमाले पार्टी कार्यालय बनाउन जग्गा लिनु/दिनुमा स्वार्थको द्वन्द्व प्रष्ट देखिन्छः पूर्व मुख्यसचिव कोइराला (भिडिओसहित)



काठमाडौं, ३० असोज । नेपाल सरकारका पूर्व मुख्यसचिव एवं अर्थविद् डा. विमल कोइरालाले वर्तमान शासन व्यवस्था लथालिङ्ग रहेको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकारले जनताको मुद्दामा चासो दिन नसकेको बताएका हुन् ।

‘सरकार अलमलमा छ । आफ्ना संस्थाहरु जसले सेवा सुविधा दिन्छन्, तिनीहरुलाई बलियो, निश्पक्ष, अराजनीतिक बनाएर सेवा सुविधाप्रति उत्प्रेरित गर्ने काम सरकारले गर्न सकेन । अब उत्प्रेरणा जगाउनुपर्यो । कर्मचारीको मनोबल बढान पर्यो । झण्झटिला गाँठो फुकाउनेपट्टी सरकारको ध्यान नै छैन । सरकार कता–कता अल्मलिएको, एकदमै ठूला–ठूला र सतही कुरा गर्नेतर्फ लाग्यो । मिहिन ढंगले जनतामा पस्ने र जनतासँगको सम्पर्क बढाउनेतिर सरकार लाग्न सकेन,’– उनले भने ।

आकस्मिक व्यवस्थापनका कामदेखि लिएर अन्य कामका लागि सरकार सही बाटोमा आउने प्रयास नै नगरेको उनले बताए । साथै, व्यवसायी मिनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाउन १० रोपनी १४ आना जग्गा दिनुमा स्वार्थको द्वन्द्व प्रष्ट रहेको उनले बताए । उनले सरकार नीतिगत भ्रष्टाचारमा लागेको टिप्पणी गरे ।

‘सरकारले सहयोग नलिने भन्ने होईन, अप्ठ्यारो पर्दा उद्योगपति, व्यवसायीबाट सहयोग लिनुपर्छ । तर, कति सहयोग कुन प्रयोजनका लागि भन्ने कुरा महत्वपूर्ण हुन्छ । राजनीतिक दलले सहयोग लिने, त्यो पनि सत्तामा रहेको राजनीतिक दलले सहयोग लिने भनेको चाहीँ त्यो प्रतिउपकारी दान हो । दान दिनेले पनि त्यसको फिर्ता कुरिराखेको हुन्छ । कुनै बेला मैले यसबाट फिर्ता लिन्छु भनेर खोजिराखेको हुन्छ । काम लिनेले पनि त्यो कुरा बुझिराखेको हुन्छ । यसले गर्दा नीतिगत भ्रष्टाचार हुने सम्भावना हुन्छ । स्वार्थको द्वन्द्व त्यहाँ प्रष्ट देखिन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्