Logo

धरानमा कार्यवाहकको किचलो, तजविजी अधिकार प्रमुखलाई नरहेको उपप्रमुखको दाबी



काठमाडौं, ३० असोज । मेयर हर्कराज राईले वडा अध्यक्षलाई कार्यवाहक तोकेपछि धरान उपमहानगरपालिकामा अहिले विवाद चुलिएको छ । मेयर राई बेलायत जाने भएपछि उनले वडा नम्बर ११ का वडा अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक तोकेका छन् । मेयर राई अहिले धरान छाडेर काठमाडौं आइसकेका छन् । उनी भोलि बेलायत उड्ने बताइएको छ ।

उपमहानगरपालिका प्रमुख अईन्द्र विक्रम बेघा भने मेयर राईलाई कार्यवाहक तोक्ने तजबीजी अधिकार नरहेको दाबी गर्छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्वत आफू कार्यवाहक हुने उनको दाबी छ । ‘कार्यवाहक तोक्ने कुरामा तजविजी अधिकार नगरप्रमुखलाई छैन । व्यक्तिगत ढंगले कसैलाई लागेर तजविजी प्रयोग गर्ने कुरा हुँदैन,’– उनले भनेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐनले ‘सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने’ व्यवस्था गरेको छ । ऐनअनुसार पहिलो प्राथमिकता उपप्रमुखकै देखिन्छ ।

कार्यवाहक मैले मागेको होईन, दिनुभयो के गर्नु ?

वडा नं. ११ का वडा अध्यक्ष फागुले हिजोदेखि आफूले कार्यवाहकको जिम्मेवारी सम्हालेको बताए । उनले उपमेयरलाई कार्यवाहक दिनुपर्ने भनेर विवाद आइरहेको पनि बताए । तर, आफूले माग्दै नमागी कार्यवाहक दिइएको उनको भनाइ छ । ‘मैले हिजोदेखि कार्यवाहक सम्हालिसकेँ । विवाद आएको छ, कार्यवाहक उपमेयरज्यू हुनुपर्ने भन्ने भनाइ छ । अब दिनुभएन, मैले मागेको होईन । दिनुभयो के गर्ने ?’ उनले भने ।

आफूले कार्यवाहकको जिम्मेवारी बहन गर्दैगर्दा कुनै पनि अवरोध नरहेको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत र मेयर राईका स्वकीय सचिवसँगको सहकार्यमा काम भइरहेको उनले बताए । मेयर राई आगामी कात्तिकको १५ देखि १७ गतेसम्ममा नेपाल फर्किने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्