Logo

पार्टी कार्यालय बनाउन करोडौं खर्च गर्न तयार भएका मिनबहादुर गुरुङ एमालेका कुन–कुन कमिटीमा थिए ?



काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि व्यवसायी मीनबहादुर गुरूङबाट जग्गा दानमा लिएर पार्टी कार्यालय बनाउने निर्णयबाट ब्याक हुन दबाब परेको छ ।

मध्य दशैंको छेको पारेर अध्यक्ष ओलीले पार्टीका शीर्ष नेताहरुलाई पनि थाहै नदिई व्यवसायी गुरुङबाट जग्गा दानमा लिने र सो भवनपनि गुरुङले नै निर्माण गरेर अर्को वर्षको घटस्थापनामा हस्तान्तरण गराउनेगरि शिलान्यास गरेपछि एमालेभित्रको माहोल तातिएको हो ।

खासगरी सचिवालय बैठकमा समेत कोही पनि नेतालाई गुरुङबाट जग्गा दान पाउने र उनैले भवन निर्माण गरिदिने कुरा कसैलाई पनि थाहा नभएको कुरा बाहिरिएको छ । एमालेकै जिम्मेवार नेताहरुले पार्टीको लिगेसीलाई ध्वस्त पार्ने निर्णय भएकोले तत्काल ब्याक हुन सार्वजनिक रुपमै नेतृत्वमाथि दबाब बढाएका छन् । यो विषयले राष्ट्रिय राजनीति नै तातिएको छ ।

कांग्रेसका नेताहरुले समेत व्यवसायीबाट जग्गा दान लिने र भवन बनाउने कुरा अशोभनीय भएको भनेर आलोचना सुरु गरेका छन् । स्वयम दानवीर मीनबहादुरको पनि सार्वजनिक रुपमै आलोचना भएको छ । उनीमाथि पनि यो निर्णयबाट ब्याक हुन दबाब परेको छ । गुरुङले आफू एमालेको शुभचिन्तक र एमाले समर्थक भएको नाताले जग्गा दान दिएको र भवनपनि बनाईदिन लागेको भनेर आफ्नो निर्णयको बचाउ गर्दै आएका छन् ।

प्रधानमन्त्री ओली र व्यवसायी गुरुङमध्ये एकजनाले उक्त निर्णयबाट एकजनाले ब्याक हुनेगरि समझदारी बनेको चर्चा छ । प्रधानमन्त्री ओलीले आजै साँझसम्म एउटा निश्कर्षमा पुग्नेगरि छलफल चलाएका छन् । साँढे ५ लाख पार्टी सदस्य भएको एमालेले आँफै पार्टी कार्यालय बनाउने सार्मथ्य राख्ने एमाले नेतृ विन्दा पाण्डेको भनाई छ ।

उनले पनि नेतृत्वलाई पार्टीको शीर झुकाउने निर्णयबाट तत्कालै फिर्ता हुन आह्वान गरेकी छिन् । सुरुमा अध्यक्ष ओली पक्षधर नेताहरुले व्यवसायीबाट जग्गा दानमा लिनु र भवन बनाईनु अपराध नभएको भन्दै बचाउमा उत्रिएका थिए ।

पार्टी कार्यालय बनाउन मीनबहादुरसँग जग्गा दान लिने निर्णयबाट ब्याक हुन चौतर्फी दबाव बढेपछि एमालेले अतिशयोक्तिपूर्ण टिकाटिप्पणी खेदजनक भएको बताएको छ । एमालेले आज प्रेस विज्ञप्ति जारी गरी ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लान्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भर्त्सनायोग्य छ दाबी गरेको हो ।

२०७२ सालको विनाशकारी भूकम्पले बल्खु, मदन नगरस्थित केन्द्रीय कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएपछि एमालेले केही बर्ष धुम्बाराही, त्यसपछि थापाथली हाइट र पछिल्लो समय च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानबाट केन्द्रीय कार्यालयको काम सञ्चालन गर्दै आएको छ ।

च्यासलस्थित कार्यालयमा पटक पटक बाढी पसेर ठूलो क्षति पुर्याएपछि वैकल्पिक व्यवस्था गर्नैपर्ने परिस्थिति निर्माण भएको अवस्थामा सफल व्यवसायी तथा पार्टीका समर्थक तथा शुभचिन्तक मीनबहादुर गुरुङले केन्द्रीय कार्यालय भवन निर्माणका लागि जग्गा दान दिनुका साथै भवन निर्माणको जिम्मेवारी पनि लिएका छन् । अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले उनले दान गरेको जग्गालाई पार्टीले स्वीकार गरेको र यसमा कुनै किसिमको सौदावाजी र लेनादेना नभएको पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘लोकतान्त्रिक मुलुकहरूमा पनि आमरूपमा व्यवसायी व्यक्तित्वहरूबाट सहयोग गर्ने परम्परा र अभ्यास रहेको छ । यसलाई अन्यथा ठानेर सार्वजनिक खपत, कथित शुद्धतावादका नाममा गरिने तर्क–वितर्कको कुनै औचित्य नरहेको व्यहोरा अनुरोध गर्दै तथ्यमा आधारित भएर गरिएका आलोचना र सुझावहरू पार्टीका लागि ग्राह्य हुनेछन्’ ।

एमालेका कुन–कुन कमिटीमा थिए मिनबहादुर गुरुङ ?

एमालेको पार्टी कार्यालय बनाउन करोडौं रकम खर्चिन तयार भउका मीनबहादुर गुरुङ विद्यार्थी कालदेखि धरानमा अध्ययन गर्दा एमालेको भातृ संगठन अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको एमालेको दाबी छ ।

त्यस्तै नोकरीको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैकिङ्ग सेक्टरको केन्द्रीय कार्यसमितिको सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई टे«ड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामिप्यतामा रही कार्य गरेको एमालेको भनाइ छ । गुरुङले पनि आफू पहिल्यैदेखि एमालेको कार्यकर्ता रहेको जिकिर गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्