Logo

नेपाल प्रिमियर लिग: पोखरा एभेन्जर्सले भित्र्यायो आन्द्रेस गौस



काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले अमेरिकन ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ । योसँगै गौस एनपीएलमा आवद्ध हुने पहिलो विदेशी खेलाडी बनेका छन् ।

३० वर्षीय दायाँ हाते ब्याटर गौसले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा ५९८ रन बनाएका छन् । अमेरिकाबाटै तीन एकदिवसीय खेल्दा १५२ रन बनाएका गौसले सन् २०२४ मा क्यानाडाविरुद्ध डेब्यु गर्दै अमेरिकाको प्रतिनिधित्व गरेका थिए ।

यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपमा आन्द्रेसले ६ खेलमा २ सय १९ रन जोडेका थिए । उमेर समूहमा भने गौसले दक्षिण अफ्रिबाट क्रिकेट खेलेका थिए । यसअघि पोखराले इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सको ब्याटिङ र फिल्डिङ प्रशिक्षक राजीव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

पोखराको मार्की खेलाडी नेपाल राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेल हुन् । नेपाल प्रिमियर लिग १५ मंसिरदेखि ६ पुससम्म हुँदै छ ।

एनपीएलमा सामेल हुने ८ वटा टिमले यसअघि एक-एक जना मार्की खेलाडीसहित प्रत्येक टिमले ११ जना खेलाडी पाईसकेका छन् । अब सबै टिमले ४-४ जना विदेशी खेलाडी र एक जना स्थानीय खेलाडी अनुबन्ध गरेर १६ जनाको टिम बनाउनु पर्नेछ ।



प्रतिक्रिया दिनुहोस्