Logo

चलचित्र छक्कापञ्जा-५ को प्रचारमा साउदीस्थित नेपाली दूतावास, सबैलाई हेर्न अनुरोध



काठमाडौं । करिब ४ लाख नेपाली कामदार कार्यरत रहेको साउदी अरवमा कामदारका कयन समस्या र पीर मर्कालाई पन्छ्याउने गरेको आरोप खेप्दै आएको रियादस्थित नेपाली दूतावासले गत सातादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र छक्कापञ्जा-५ को प्रचार गरेको हो ।

दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत साउदी अरबमा उक्त चलचित्र प्रदर्शन हुन लागेको भन्दै त्यहाँ रहेका नेपालीलाई हेर्न अनुरोध गरेको छ ।

“साउदी अरबमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूका लागि जानकारी,” दूतावासले आफ्नो फेसबुक पेजमा भनेको छ, “१७ अक्टोबर २०२४ देखि साउदी अरबका विभिन्न सहरमा पहिलोपटक नेपाली चलचित्र ‘छक्का पञ्जा–५’ एकै साथ प्रर्दशन हुने भएकाले नजिकको सिनेमा हलमा गएर चलचित्र हेर्न सकिने व्यहोरा जानकारी गराइन्छ ।”

दूतावासले साउदी अरबमा ‘छक्का पञ्जा–५’ प्रशर्दन हुने सहर र चलचित्र हलको पूर्णविवरण र थप जानकारी आवश्यक परे सम्पर्क गर्न भन्दै एक व्यक्तिको नाम र मोबाइल नम्बर पनि उपलब्ध गराएको छ । दूतावासले आफ्नो फेसबुक पेजमा ‘छक्का पञ्जा–५’ को पोस्टर पनि राखेको छ ।

दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले मिलेर निर्माण गरेको चलचित्र नेपालसहितका विभिन्न देशमा प्रदर्शन भइरहेको छ । चलचित्रले हालसम्म सुखद व्यापार गरिरहेको निर्माण पक्षले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्