Logo

साना दलका ठूला-ठूला नेताहरु एमाले प्रवेश गर्दैछन्ः महासचिव पोखरेल



काठमाडौं, १ कात्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले साना दलका ठूला–ठूला नेताहरु निकट भविष्यमै एमालेमा प्रवेश गर्ने तयारी रहेको बताएका छन् । आज (बिहीबार) दाङमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब चुनावमा गठबन्धनको राजनीति नचल्ने बुझेर धेरै वामपन्थी नेताहरु एमालेमा प्रवेश गर्न लागेको बताएका हुन् । उनले एमालेले एकताको अभियान चलाउने र आगामी निर्वाचनबाट निर्णायक शक्ति बन्ने उनले बताए ।

‘केही समय पछाडि सानातिना पार्टीका ठूला–ठूला नेताहरु एमालेमा जोडिने क्रम सुरु हुनेवाला छ । मैले को–को भनेर अहिले नभनौं । जतिपनि सानातिना वामपन्थी पार्टीहरु छन्, गठबन्धनको राजनीति चल्दैन भनेपछि अब उनीहरुले आफ्नो भविष्य छैन भन्ने कुरा थाहा पाइसकेका छन् । एमालेमा जोडिनुपर्छ भन्न थालेका छन् । हामी निकट भविष्यमा एउटा अभियान चलाएर सबैलाई जोडेर एमालेलाई निर्णायक शक्ति स्थापित गर्ने अभियानमा रहेका छौं,’– उनले भने ।

साथै, दाङमा एकीकृत समाजवादीको अस्तित्व नै सकिइसकेको दाबी गर्दै उनले माओवादीका असल नेताहरुलाई एमालेतिर जोड्ने काम गर्न निर्देशन दिए । ‘अब हिँड्ने बाटो समाजवाद कि पुँजीवाद भन्ने कुरा नै हो । समाजवादतर्फ हिँड्न चाहनेहरु चाहीँ एउटा झण्डामुनि जोड्न तयार हुनुपर्छ भन्ने मान्यताका साथ हामीले माओवादीमा रहेका इमानदार मान्छेलाई पनि एमालेमा जोड्ने काम गर्नुपर्छ । एकीकृत समाजवादी भन्ने खास्सै छ जस्तो लाग्दैन । तर, पनि दाङ जिल्लाका फाट्टफुट्ट ठाउँमा एकीकृत समाजवादीले पनि हामीलाई दुःख दिएको थियो । त्यसको असरबाट पनि हामी मुक्त भइसकेका छौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्