Logo

मन्त्रिपरिषद्को बैठक बस्दै, सत्य निरूपण र बेपत्ता व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न सर्च कमिटी बन्दै



काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमाबैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग (टीआरसी) गठनका लागि सर्च कमिटी बनाउने बताइएको छ ।

यसअघि बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले सर्च कमिटी टुंग्याउने निर्णय गरेको हो। सोही निर्णयअनुसार मन्त्रिपरिषद् बैठकले सर्च कमिटीको नाम टुंग्याउने जनाइएको छ ।

सोही विषयमा छलफल गर्न बिहीबार शीर्ष तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू बालुवाटारमा जुटेका थिए।

छलफलमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश बडाल सहभागी थिए।

शान्ति प्रक्रियासँग सम्बन्धित रहेको टीआरसी विधेयक सदनबाट पारित भइ राष्ट्रपतिबाट समेत प्रमाणीकरण भइसकेको छ । तर, लामो समयदेखि दुवै आयोग पदाधिकारी विहीन रहेका छन् । यसअघि नै सर्वोच्च अदालतले १ महिनाभित्रमा दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न आदेश दिएपनि तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले नियुक्ति प्रक्रिया अघि बढाउन सकेन् ।

प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले २०८० चैत ३० मा पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सिफारिस समिति गठन गरेको थियो । समितिमा राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिका साथै जगदीश शर्मा पौडेल, अर्जुनकुमार कार्की र स्टेला तामाङलाई सदस्य बनाइएको थियो । तर पहिले संसदेमा विचाराधीन विधेयक पारित गर्नुपर्ने सर्त राखेर मानवअधिकार आयोगले प्रतिनिधित्व नगराएका कारण समितिले सिफारिस प्रक्रिया नै अघि बढाएन ।

सरकारले राजनीतिक सहमतिको आधारमा आयोगमा पदाधिकारी नियुक्त गर्ने तयारी थालेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगमा नेपाली कांग्रेसले र वेपत्ता पारिएका व्यक्तिको छानबिन गर्नगठित आयोगमा नेकपा एमालेले अध्यक्ष पाउने र केही सदस्य प्रतिपक्षी दल माओवादी केन्द्रलाई दिने सरकारको तयारी छ ।

कांग्रेसले पाउने सत्य निरुपण तथा मेलमिलाप आयोगमा संविधानविद् तथा पूर्व सांसद राधेश्याम अधिकारी र एमालेले पाउने आयोगमा पूर्व कानूनमन्त्री अग्निप्रसाद खरेल अध्यक्ष बन्ने चर्चारहेको छ । यद्यपि कांग्रेसको कोटाबाट यसअघि अध्यक्ष भएका गणेशदत्त भट्टले पनि पुन: सोही पदमा जान इच्छा राखेका छन् । सुदूरपश्चिमका भट्ट कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणामार्फत अध्यक्षमा दोहोरिने दाउमा छन् ।



प्रतिक्रिया दिनुहोस्