Logo

सहकारी ठगी प्रकरणः रवि लामिछाने १/२ दिनभित्रै पक्राउ पर्ने एमाले नेता बस्नेतको खुलासा (भिडिओसहित)



काठमाडौं, २ कार्तिक । नेकपा (एमाले) का पोलिट्व्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन छिट्टै कार्यान्वयनमा आउने बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले समितिले दोषी देखाएका कसैले पनि उन्मुक्ति नपाउने बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पनि उक्त प्रकरणमा छिट्टै छानविनको दायरामा आउने उनले बताए ।

‘प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा ग्यालेक्सी टेलिभिजनका सञ्चालक जिबी राईका पाट्नर छविलाल जोशीलाई कास्की प्रहरीले अनुसन्धान सुरु गरेको २०/२२ दिन भइसकेको छ । त्यसैगरी अर्का पाट्नर रवि लामिछानेजी अथवा एमडी, उहाँको बारेमा पनि छानविन प्रक्रिया तीब्र गतिमा भइरहेको छ । मलाई लाग्छ एक/दुई दिनभित्र उहाँलाई पनि छानविनको दायरामा ल्याइन्छ,’– उनले भने ।

रास्वपा सभापति लामिछानेले एउटामात्रै नभएर ८/१० वटै गलत काम गरेको र संगठित अपराधको सूचीमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको उनको दाबी छ । सम्पत्ति सुद्धीकरण, दोहोरो पासपोर्ट, ड्राइभरको आत्महत्या प्रकरणलगायतका विषय जोडिएर आउने उनले बताए । लामिछाने अहिले सरकार ढाल्ने ध्याउनमा रहेको पनि नेता बस्नेतले बताए । यो सरकार ढलेर अर्को बनाउन सकियो भने सहकारी ठगीमा मुद्दा नचल्ने पनि बनाउन सकिन्छ भनेर उनी लागिरहेको बस्नेतको आरोप छ ।

‘सहकारी ठगी प्रकरणमा जो–जो संलग्न छन्, कुनै पनि राजनीतिक आस्थाको आधारमा उनीहरुले छुट पाउँदैनन् । चाहे एमाले, कांग्रेस, रास्वपा जोसुकै हुन्,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्