Logo

प्रधानमन्त्री ओलीले देश चलाउन सक्नुभएन, राजीनामा दिँदा राम्रो हुन्छः प्रभु साह (भिडिओसहित)



काठमाडौं, २ कार्तिक । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वर्तमान सरकारले विवादास्पद र गैरजिम्मेवार काम गरिरहेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकार देशलाई अन्यौल र जनतालाई निराश बनाउनेतर्फ केन्द्रीत रहेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चलाउन नसकेको उनकाले भनाइ छ । उनले प्रधानमन्त्री ओलीले अब राजीनामा दिँदा राम्रो हुने सुझाव दिए । ‘मेरो विचारमा प्रधानमन्त्रीले राजीनामा दिँदा राम्रो । उहाँले चलाउन सक्नु भएन । देश पूरै ध्वस्त गर्नुभयो । जनतालाई पूरै निराश बनाउनु भयो । बाढी पहिरो पीडितहरुले सरकार देखेनन् । सरकारविहीन देखियो । यस्तो अवस्थामा कुर्सी ओगटेर मिनबहादुर जस्ताको जग्गा ओगट्न सरकार चाहियो त ?’ प्रश्न गर्दै उनले भने ।

साथै, फरक प्रसंगमा उनले नेपालका राजनीतिक दलमध्ये सबैभन्दा धनी नेकपा (एमाले) रहेको बताए । एमाललाई व्यवसायी मिनबहादुर गुरुङले दिएको १० रोपनी १४ आना जग्गा दान नभएर घुस रहेको उनको दाबी छ । उनले दान सानालाई दिइने जिकिर गरे । मिनबहादुरले दान नै दिएको हो भने आजपालाई पनि दिन उनले आग्रह गरे ।

‘एमालेसँग त अर्बौं, खर्बौं सम्पत्ति छ । तलदेखि माथिसम्म सरकार नै सरकार छ । पैसाको कुनै कमी छैन । पहिलादेखि काठमाडौंमा कार्यालय भएको पार्टी हो । उहाँहरुलाई त उहाँ (मिनबहादुर) ले दान दिनुभयो । त्यो दान हुँदै होईन, घुस हो । घुस होईन दान नै हो भने हाम्रो पार्टीलाई पनि दिए हुन्छ नि । ठूलाबडालाई दिन दिने त मैले सुनेको छैन, दान त सानालाई दिन्छन्,’– उनले भने ।

अहिले एमालेको सानो गुटले मात्रै सरकारको स्वाद लिइरहेको र बाँकी सबै दल विरोधमा रहेको उनले बताए । नेपाली कांग्रेस पनि वर्तमान सत्ता समीकरणबाट सन्तुष्ट नरहेको उनको दाबी छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्