Logo

प्यालेस्टाइनी जनताको मुक्ति संघर्षको पक्षमा माओवादी केन्द्रनिकट ४ जनसंगठनको ऐक्यबद्धता



काठमाडौं, २ कार्तिक । नेकपा (माओवादी केन्द्र) निकट विभिन्न ४ जनसंगठनहरुले इजरायलद्वारा प्यालेस्टाइन, लेबनानसहित मध्यपूर्वका विभिन्न देशमा भइरहेको सैन्य हस्तक्षेप तथा नरसंहार र अमानवीय हर्कतको भर्त्सना गरेका छन् । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) का अध्यक्ष जगतबहादुर सिम्खडा, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजीत श्रीपाली र अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष अमर परियारले नरसंहार र अमानवीय हर्कतको भर्त्सना गर्दै प्यालेस्टाइनी जनताको मुक्ति संघर्षको पक्षमा ऐक्यबद्धता जनाएका हुन् ।

इजरायलको मानवताविरोधी नरसंहारलाई प्रजातन्त्र र मानवअधिकारका स्वघोषित पहरेदारहरूले समर्थन गरिरहेको भन्दै उनीहरुले खेद् प्रकट गरेका छन् । त्यस्तै, युद्ध रोक्न संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद्‌ र स्वघोषित महाशक्ति राष्ट्रहरूबाट कुनै पहल नभएको विज्ञप्तिमा उल्लेख छ ।

‘हामी इजरायल र उसको समर्थन गर्ने सम्पूर्ण साम्राज्यवादी शक्तिहरूलाई अविलम्ब मध्यपूर्वमा चलिरहेको युद्ध तथा नरसंहार रोक्न, इजरायललाई सबै आर्थिक तथा सैन्य सहयोग रोक्न, वार्ताद्वारा समस्याको स्थायी समाधान गर्न, मानवअधिकार स्थापना गर्न, इजरायलद्वारा अतिक्रमित प्यालेस्टाइनी भूमि तत्काल खाली गर्न र संयुक्त राष्ट्र संघको पूर्ण सदस्यतासहित प्यालेस्टाइनलाई पूर्ण स्वतन्त्रता प्रदान गर्न जोडदार माग गर्दछौँ । यसका लागि संयुक्त राष्ट्र संघ, प्रभावशाली राष्ट्रहरू र शान्तिका पक्षधर विश्व जनसमुदायलाई आवश्यक पहल गर्न र मध्यपूर्वमा शान्ति स्थापना गर्दै मानवजातिलाई तेस्रो विश्व युद्धबाट बचाउन अपिल गर्न चाहन्छौं,’– विज्ञप्तिमा भनिएको छ ।

हमासद्वारा कब्जामा लिइएका नेपाली विद्यार्थी विपिन जोशीसहित इजरायल र हमासद्वारा बन्धक बनाइएका सबै नागरिकहरूको निःशर्त रिहाइको मागसमेत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्