Logo

सुपर ओभरमा अमेरिकालाई हराउँदै टी-२० सिरिजको उपाधि नेपाललाई, कुशल र सोमपालको शानदार प्रदर्शन



काठमाडौं । सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले तीन खेलको टी-२० आई सिरिज एक खेलअगावै जितेको छ।

टी-२० आई सिरिजको दोस्रो खेलमा आइतबार बिहान नेपालले सुपर ओभरमा घरेलु टिम अमेरिकालाई पराजित गरेको छ । योसँगै नेपालले तीन खेलको सिरिज एक खेलअघि नै जितेको हो ।

निर्धारित २० ओभरको खेलमा नेपाल र अमेरिका दुवैले १७० रन बनाएपछि खेल सुपर ओभरमा प्रवेश गरेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले नेपाललाई ३ रनको विजयी लक्ष्य दिएको थियो ।

सोमपाल कामीले तेस्रो बलमा सायन जहाङ्गिर र चौथो बलमा आरोन जोन्सको विकेट लिएपछि अमेरिकाले ३ रनको लक्ष्य दिएको थियो ।

३ रनको लक्ष्य नेपालले सहजै पूरा गर्‍यो । सुपर ओभरमा ब्याटिङमा आएका कप्तान रोहित पौडेल र कुशल भुर्तेलले सजिलै लक्ष्य पूरा गरेका हुन् । त्यसक्रममा कप्तान पौडेलले २ र भुर्तेलले १ रन जोडे ।

त्यसअघि नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७० रन जोडेपछि खेल बराबरी भएको थियो । अमेरिकाका लागि आन्द्रेस गौसले सर्वाधिक ६२ रनको योगदान दिए । यस्तै, सैतेजा मुक्कमल्लाले ४७, मिलिन्द कुमारले १५, सायन जहाङ्गिरले १४ र जसदिप सिंहले ७ रनको योगदान दिए ।

नेपालका लागि करण केसीले ३, सोमपाल कामीले २ तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए ।

त्यसअघि डालसस्थित ग्रान्ड प्रेरी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७० रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि कुशल भुर्तेल ९२ रनमा अविजित रहे । ५४ बल खेलेका भुर्तेलले ७ चौका र ६ छक्काको मद्दतमा ९२ रन जोडेका हुन् । यस्तै, अनिल साहले २५, गुल्सन झाले १९, कप्तान रोहित पौडेलले १८ रन जोड्दा करण केसी ६ रनमा अविजित रहे ।

अमेरिकाका लागि जसदिप सिंह र नोस्थुस केन्जिगेलले समान २-२ तथा सौरव नेत्रवल्करले १ विकेट लिए । यसअघि नेपालले सिरिजको पहिलो खेलमा अमेरिकालाई १७ रनले पराजित गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्