काठमाडौं, ४ कार्तिक । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राज्य पूर्वाग्राही हुन नहुने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्वाग्राही भएर समस्या समाधान गर्न खोजिएको खण्डमा झन जटिलता आउने बताएका हुन् । सहकारी ठगीबारे छानविनका लागि बनेको संसदीय विशेष समितिको प्रतिवेदनको आधारमा रविलाई पक्राउ गरिएकोमा अब निश्पक्ष ढंगले अनुसन्धान हुनुपर्ने र रविले पनि राज्यलाई अनुसन्धानमा सघाउनुपर्ने उनको भनाइ छ । साथै, उनले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन कानुन बनाउनुपर्ने आवश्यक्ता औंल्याए ।
‘पूर्व गृहमन्त्री रवि लामिछानेले राज्यलाई सहयोग गर्नुपर्छ । इमानदारपूर्वक सहयोग गर्नुपर्छ र लोकतन्त्रको मूल्यलाई नयाँ पुस्ताले स्थापित गर्नेमा योगदान गर्नुपर्छ । दोस्रो कुरा राज्य पूर्वाग्राही हुन हुँदैन । व्यक्तिप्रति पूर्वाग्राही भएर समस्या समाधान गर्न खोजियो भने त्यसले झन जटिलता ल्याउँछ । तेस्रो कुरा सहकारी ठग धेरै छन्, लाखौं जनता ठगिएका छन् । ती सबै सहकारी ठगहरुलाई छिटोभन्दा छिटो कानुनको दायरामा ल्याउनुपर्यो र यस्तो काम हुन नदिन कानुन बनाउनुपर्यो,’– उनले भने ।
साथै, वर्तमान सरकारले सहकारी सम्बन्धी समस्या समाधान गर्न जिबी राईलाई पक्राउ गर्नुपर्ने उनले बताए । उनले राज्यले जिबीलाई छिटो पक्रिनुपर्ने नेता किरातीको भनाइ छ ।
‘जिबीजस्तो सहकारी ठगलाई कहिले पक्रिने ? छिटो पक्रिनुपर्यो । राज्य लागेर पक्रिन पर्यो । जनताको एउटैमात्र आवाज छ, जिबी कहिले पक्राउ पर्छ ? जिबी किन पक्राउ नपरेको हो ?’ उनले प्रश्न गरे ।