Logo

रवि लामिछानेको गिरफ्तारीलाई प्रतिशोध भन्न मिल्दैन, बरु धनराज र ऋषिकेशलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छः जसपा नेता सुमन



काठमाडौं, ४ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले राज्यले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिशोध साँधेर पक्राउ नगरेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कका नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारले सिधै गिरफ्तार गरेको भएमात्रै प्रतिशोध भन्न सकिने बताएका हुन् । अदालतको अनुमतिमा जो–कोहीलाई पनि राज्यले अनुसन्धानका लागि नियन्त्रणमा लिन सक्ने उनले बताए । यसलाई प्रतिशोधको रुपमा हेर्न नहुने उनको भनाइ छ ।

‘प्रतिशोधमा गरेको जस्तो मलाई लाग्दैन । सिधै सरकारले गिरफ्तार गरेको भए प्रतिशोध भन्न सकिन्थ्यो । यहाँ कास्की जिल्ला अदालतको आदेशले गिरफ्तार गरिएको हो । तसर्थ, यसलाई प्रतिशोध भन्न मिल्दैन,’– नेता सुमनले भने ।

सहकारी ठगीमा लामिछानेको संलग्नताबारे लामो समयदेखि संसदीय छानविन समिति, प्रहरी र सीआईबीले छानविन गरेर थप अनुसन्धानका लागि अदालतमो अनुमतिमा नियन्त्रणमा लिइएको उनले बताए । साथै, उनले सहकारी ठगीमा जोडिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा (एमाले) का नेता ऋषिकेश पोखरेललाई पनि छानविनका दायरामा ल्याउन सरकारलाई सुझाव दिए ।

‘उहाँलाई थप छानविनको दायरामा ल्याउनुपर्ने भएकाले मात्रै गिरफ्तार गरिएको हो । तसर्थ यो प्रतिशोधकै रुपमा होईन । तर, नेपाली कांग्रेसका ठूला–ठूला नेता, नेकपा (एमाले) का ठूला–ठूला नेता सहकारी ठगी प्रकरणमा दोषी देखिएका छन् । नामै लिने हो भने धनराज गुरुङ, ऋषिकेश पोखरेल, उहाँहरुको छानविन के भयो त ? त्यो छानविन कहाँ पुग्यो । ती नेताहरुको पक्षपोषण हुन हुँदैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्