Logo

सूर्य थापा नेतृत्वको संसदीय छानविन विशेष समितिको प्रतिवेदनले रवि लामिछानेको मुद्दा कमजोर बनायोः माओवादी नेता बिडारी



काठमाडौं, ४ कार्तिक । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिको प्रतिवेदनले सहकारी ठगीको मुद्दालाई कमजोर बनाइएको बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालद्वारा समसामयिक विषयमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सूर्य बहादुर थापा क्षेत्री नेतृत्वको संसदीय विशेष समितिको प्रतिवेदनले मुद्दा कमजोर बनाएको र जनतालाई समेत दुई भागमा विभाजित गरिदिएको बताएका हुन् । संसदीय छानविन विशेष समितिको प्रतिवेदनलाई उनले ‘नालायक प्रतिवेदन’ को संज्ञा दिए ।

‘कारबाही गर्नुपर्छ भन्ने एकथरी, खबरदार कारबाही गर्न हुँदैन भन्ने अर्कोथरी । यसको मुख्य कारण चाहीँ संसदीय समितिको प्रतिवेदन हो । संसदीय समितिको प्रतिवेदनले नै नेपाली जनतालाई दुई भागमा लगाइदियो । यो जम्मै गडबड भएको, मुद्दा कमजोर भएको संसदीय समितिको प्रतिवेदनले हो । संसदीय समितिले छानविन गर्न सक्दैन र हुँदैन भनेर मैले डे वानदेखि भन्दै आएको थिए ।’ उनले भने, ‘दोहोरो अर्थ लाग्ने गरी प्रतिवेदन दिने । रविले केही पनि गरेको छैन है सहकारीमा पनि उसैले लेख्ने, अनि रविलाई कारबाही गर्नुपर्छ है भनेर पनि उसैले लेख्ने । योजस्ता नालायक प्रतिवेदन संसदीय इतिहासमा कहिले पनि आउँदैन । यसको कारणले गर्दा जनता भ्रममा परे ।’

नेता बिडारीले निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रवि लामिछानेजस्तो सहकारी ठगलाई बोकेको टिप्पणी गरे । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहकारी ठगहरुलाई बोकिरहेको उनको दाबी छ । नेता बिडारीले ठग र अपराधी वरिपरी नराखी प्रधानमन्त्री बन्नै नसकिने अवस्था आइपरेको बताए ।

‘प्रधानमन्त्री जो–जो भए, ती–ती प्रधानमन्त्रीलाई ठग र अपराधी नभइ नहुने रहेछ । ठग र अपराधी वरिपरी नराखी प्रधानमन्त्री टिक्न सक्दो रहेनछ । कुनै प्रधानमन्त्रीले कुनै ठग र अपराधीलाई, कुनै प्रधानमन्त्रीले कुनै ठग र अपराधीलाई । अहिलेको प्रधानमन्त्रीलाई को–को ठग र अपराधी चाहिएको छ ?

तपाईँहरुले अघि नाम भनिसक्नुभयो । ती–ती ठगलाई राखेर शासन चलाउने । यहाँभन्दा अगाडिका प्रधानमन्त्रीलाई रवि ठग चाहिएको थियो,’– उनले भने ।
संसदीय छानविन विशेष समितिको प्रतिवेदनले राजनीतिक मोलतोल गरेको नेता बिडारीको दाबी छ । रवि सत्तामा रहुन्जेल उनलाई मुद्दा नलागेको स्मरण गराउँदै उनले धनराजलगायतलाई पनि यो सरकार रहुन्जेल मुद्दा नलाग्ने बताए ।



प्रतिक्रिया दिनुहोस्