Logo

अमेरिकाविरुद्धको टी-२० सिरिजमा नेपालको ‘क्लिन स्वीप’



काठमाडौं । नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिज ‘क्लिन स्वीप’ गरेको छ । एक खेल अगावै सिरिज उचालेको नेपालले अन्तिम खेलमा आठ विकेटको जित निकाल्दै क्लिन स्वीप गरेको हो ।

अन्तिम खेलमा नेपालका ओपनर आशिफ शेखले अमेरिकाविरुद्ध अर्धशतक बनाए । ३९ बलको सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्दतमा ५० रन बनाएका हुन्। कुशल मल्ल र कुशल भुर्तेलको महत्त्वपूर्ण साँझेदारीमा अमेरिकाविरुद्ध नेपालले अन्तिम खेलमा शानदार जित निकालेको हो । कुशल मल्लले नटआउट ४४ रन र कुशल भुर्तेलले नटआउट ४० रन जोडे। मल्लले ३० बलमा ४ चौका र १ छक्का तथा भुर्तेलले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे।

टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले पाँच विकेट गुमाएर १ सय ५६ रनको चुनौतीपूर्ण स्कोर खडा गरेको हो । स्कोरबोर्डमा सात रन मात्र छँदा पहिलो विकेट गुमाएको अमेरिकाका लागि ओपनर साइतेज मुकामलले सर्वाधिक ६८ रन बनाए र उनले नै टिमको इनिङ्स बुने । उनले ५१ बलको सामना गरेर पाँच चौका र दुई छक्का प्रहार गरे । उनी सोमपाल कामीको बलमा बोल्ड भए ।

त्यस्तै, मिलिण्ड कुमारले ३५ बलमा नटआउट ४३ रन बनाए । आरोन जोन्स १३, श्याम जाहाङ्गिर ९, कप्तान मोनाङ्क पटेल २ र आन्ड्रिज गौस २ रन बनाएर आउट भए । हर्मीत सिंह १० रनमा नटआउट रहे ।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट लिए । तीन खेलमा पाँच विकेट लिएका नेपालका सोमपाल कामीले प्लेयर अफ द सिरिजको उपाधि पाए । उनले यसबाहेक दोस्रो खेलको सुपर ओभरमा नेपालका लागि महत्त्वपूर्ण दुई विकेट लिएर खेल नेपालको पक्षमा पारेका थिए । सिरिजमा नेपालका कुशल भुर्तेल सर्वाधिक रन बनाउन खेलाडी बने । उनले तीन खेलमा १४२ रन बनाए ।



प्रतिक्रिया दिनुहोस्