Logo

दल विभाजन सम्बन्धी अध्यादेशबारे एमाले सचिव अर्यालको टिप्पणीः दल त हाम्रो पनि फुटेको हो नि ! (भिडिओसहित)



काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) कि सचिव पद्मा अर्यालले सरकारले छिट्टै दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको संकेत गरेकी छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अत्यावश्यक कामका लागि अध्यादेश आउनुलाई ठूलो कुरा मान्न नहुने बताएकी हुन् । उनले विगतमा एमाले पनि फुटाइएको बताउँदै अहिले दल फुट्नुलाई नौलो मान्न पनि नहुने उनको भनाइ छ ।

‘सामान्य छलफल हुँदैमा सबै सकिसक्यो भन्ने पाटोमा जान पनि हुँदैन । जतिबेला संसद् चलिरहेको हुँदैन र अत्यावश्यक कामहरु हुन्छन्, ती आत्यावश्यक काम गर्नका निमित्त अध्यादेश ल्याउने गरिन्छ । दल त हाम्रो पनि फुटेको हो नि त । त्यो हामीले चाहेर हो र ? आवद्ध सदस्यहरुले विद्रोह गर्न चाहेपछि कसैलाई दोष लगाएर हुन्छ र ?’– उनले प्रश्न गरिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउनको लागि दशैंअघि नै जोड गरेका थिए । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले सुरुमा असहमति राखेपछि अध्यादेश ल्याईन केही ढिलाई भएको थियो । योबीचमा कांग्रेस सभापति देउवाकै मागबमोजिम सरकारले रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरिसकेको छ । रवि पक्राउ परेर उनीविरुद्ध थप अनुसन्धानको लागि कास्की जिल्ला अदालतबाट ६ दिनको म्या थप भएको छ ।

उता, लामिछानेविरुद्ध म्याप भएसँगै यता बालुवाटारमा कांग्रेस र एमालेका नेतृत्व तहका नेताहरु थप रणनीति बनाउन छलफलमा हिजै जुटेका थिए । छलफलमा एमालेबाट प्रधानमन्त्री ओली, नेताहरु शंकर पोखरेल र विष्णु पौडेल सहभागी थिए । उता, कांग्रेसबाट सभापति देउवा, महामन्त्री गगन थापा र नेतृ डा. आरजु राणा सहभागी थिईन् । हिजोको बालुवाटार बैठकबाट नै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने विषयमा उच्चस्तरको समझदारी बनेको चर्चा छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्