Logo

प्रधानमन्त्री ओलीले जग्गासँग मिनबहादुरको मुद्दा साट्न लागेको वरिष्ठ अधिवक्ता भण्डारीको आरोप



काठमाडौं, ५ कार्तिक । वरिष्ठ अधिवक्ता एकराज भण्डारीले एमाले व्यवसायी मिनबहादुर गुरुङसँग जग्गा दान लिनु गलत रहेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कर छली र जग्गा विवादमा मुद्दा विचाराधीन रहेको व्यापारीसँग एमालेले सत्तामा भएको बेला दान लिनुमा स्वार्थको द्वन्द्व रहेको बताए । सरकारले जग्गासँग मिनबहादुरको मुद्दामा सौदाबाजी गरेको हुनसक्ने उनको संकेत छ ।

‘त्यो जग्गा दान दिने मान्छेलाई स्वयं सरकारले के मुद्दा हालेको छ भने तिमीले कर छल्यौं । तिम्रो सम्पत्ति कालो धन हो भनेर मुद्दा हाल्यो । त्यो सम्पत्ति कालो धन कि के हो भन्ने मुद्दा विचाराधीन छ । विचाराधीन भएको मुद्दा फिर्ता लिनसक्ने पनि अधिकार सरकारले राख्छ । मुद्दा हाल्ने मान्छे को हो ? स्वयं केपी ओली अर्थात् सरकार । कालो धनले कमाएको सम्पत्ति उसले लिँदाखेरी के हुन्छ ? मलाई कालो धन भनेर तिमीले मुद्दा हाल्यौं । बरु तिमीलाई यति जग्गा दिन्छु, त्यो मुद्दा फिर्ता लिन्छौं भनेर कुरा मिलाएको जस्तो देखिने । त्यो गलत छ,’– उनले भने ।

साथै, फरक प्रसंगमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्दा नेता, कार्यकर्ता र समर्थकहरु सडकमा उत्रिनु गलत रहेको बताए । उनले यस्तो कार्यलाई राजनीतिक दलहरुले कानुन हातमा लिएको दृष्टान्तको संज्ञा दिए । साथै, राजनीतिक व्यक्ति पक्राउ पर्दा र सर्वसाधारण पक्राउ पर्दा सरकारले भिन्न व्यवहार गरेको उनको भनाइ छ । उनले सबै नेपालीलाई रवि लामिछानेको जस्तो हत्कडी नलगाई पक्रिनुपर्ने र मिडियामा आफूलाई लागेको कुरा बोल्न दिनुपर्ने बताए । होईन भने लामिछानेलाई उक्त सुविधा दिन नहुने उनको माग छ । रास्वपा सभापति लामिछाने अहिले कास्की प्रहरी हिरासतमा छन् । उनलाई हिजो अदालतमा पेश गरिएको थियो । सो क्रममा उनलाई हत्कडी लगाइएको थिएन । त्यस्तै उनले मिडियामा समेत आफ्ना कुराहरु राखेका थिए ।

‘राजनीतिक दलहरुले कानुन हातमा लिएर काम गरिरहेको दृष्टान्त हो यो । अहिले नेपालमा वास्तवमा सुशासन छैन । कुशासनको स्थितिमा यस्तै हुँदोरहेछ । यहाँ एउटा रवि लामिछानेमात्रै होईन । रवि लामिछानेलाई साइत हेरेर पक्रिनु नै गलत छ । उनलाई जुनबेला प्रश्न उठ्यो, त्यहीबेला पक्राउ गर्नुपर्थ्यो । प्रतिवेदनले यो–यो मान्छेलाई कारबाहीको दायरामा ल्याउ भन्दाभन्दै पनि ती मान्छेहरुलाई कुन दिन साइत हेरेर पक्राउ गर्ने हो त ? मान्छे सत्तामा भयो भने एउटा र सत्तामा भएन भने अर्को गर्न पाईएन । जनता पक्राउ परेको भए हातमा हत्कडी हुन्छ । नेता पक्राउ परेमा सम्मानको साथ लगिन्छ । सामाजिक सञ्जालमा आफ्नो कुरा राख्न दिईन्छ,’– वरिष्ठ अधिवक्ता भण्डारीले भने ।

उनले देशमा कानुनी राज्य नै नरहेको बताए । लामिछानेलाई एउटा मुद्दा लाग्दा देश नै हल्लिएको र कतिपय निर्दोष मान्छेहरु १० वर्षसम्म जेल बस्नुपर्ने परिस्थिति रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्