Logo

रवि लामिछाने पक्राउ प्रकरणः भीडमा विश्वास गर्ने रास्वपा र कानुनको खिलाफमा उत्रिएका सांसद



काठमाडौं, ५ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी यति बेला सडक संघर्षमा छ । गत शुक्रबार लामिछानेलाई कास्की जिल्ला अदालतको अनुमतिमा प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो । पक्राउ परेलगतै उनलाई पोखरा पठाइएको थियो । रास्वपाका सांसदहरु हरि ढकाल, डोलप्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले, मनिष झा, डा. तोसिमा कार्कीलगायत यतिबेला पोरखामा रवि लामिछानेको रिहाइका लागि प्रदर्शन, कोण सभा लगायतका गतिविधिमा संलग्न छन् ।

अदालतको अनुमति लिएर कुनै पनि व्यक्तिलाई राज्यले अनुसन्धानको लागि नियन्त्रणमा लिन पाउँछ । सहकारी ठगीमै पनि अहिले एक हजार ६ सयभन्दा बढी मानिसहरु थुनामा छन् । हाईप्रोफाइल व्यक्ति पक्राउ परेको रवि लामिछानेमात्रै पनि होईन । यसअघि नेकपा (एमाले) का निलम्बित सचिव, पूर्व उपप्रधान एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खान, पूर्व गृहमन्त्री एवं तत्कालीन सभामुख कृष्णबहादुर महरा, पूर्वगृहमन्त्रीहरु चिरञ्जिवी वाग्ले, गोविन्दजोशी, खुमबहादुर खड्का, विजयकुमार गच्छदारसमेत पक्राउ परेका थिए । एमालेका सचिव रायमाझी त अहिले पनि जेलमै छन् । यी पात्र पक्राउ पर्दा कुनै पनि राजनीतिक दलले हुलहुज्जत, नाराबाजी र कोण सभा गरेको इतिहास छैन ।

तर, ‘सुशासन’ र ‘जान्नेलाई छान्ने’ नारा लिएर राजनीतिमा उदाएको दलका सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने ठगी आरोपमा पक्राउ पर्दा सिंगो रास्वपा आन्दोलनमा उत्रिएको छ । उसो त पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्सहान प्रकरणमा पनि भीडले नै रवि लामिछानेलाई उन्मुक्ति दिएको थियो । गत २०७६ साउन ३० गते आत्महत्या दुरुत्सहान प्रकरणमा पक्राउ परेका लामिछाने चितवनमा उर्लिएको जनसागरको दवाबमा धरौटीमा छुटेका थिए । यद्यपि, पछि उनले सो मुद्दामा सफाइ पाए ।

लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेको बेला पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मीलगातका सहकारीबाट गैरकानुनी रुपमा पैसा ल्याएको आरोप छ । सोही प्रकरणको आरोपित गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई फरार छन् । अर्का तत्कालीन शेयरहोल्डर छविलाल जोशी पनि प्रहरी हिरासतमा छन् । यी सबै पक्राउ पर्दा चुपचाप बसेको रास्वपा आफ्ना सभापति पक्राउ पर्दा भने सडकमा उत्रिएको छ । सांसद जनताका प्रतिनिधि हुन् । उनीहरुलाई जनताले कानुन बनाउनका लागि जिताएर पठाएका हुन्छन् । कानुन बनाउने जिम्मा पाएका सांसदहरुले यसरी कानुनी आधार पुर्याएर पक्राउ परेका व्यक्तिको रिहाइका लागि प्रदर्शन गर्नु, कोण सभा गर्नु शोभनीय होईन ।

रास्वपा नेता तथा सांसदहरुबाट भइरहेको यस्ता हर्कतबारे नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कानुनी राज्यको धज्जी उडेको टिप्पणी गरे । रास्वपाका सांसदहरुले अदालतको अनुमतिमा पक्रिएको मान्छेको पक्षमा नारबाजी र जुलुस गरेर न्यायपालिकालाई प्रभावित पार्न खोजेको उनको आरोप छ ।

‘पहिला रवि लामिछानेजीले के भन्नुभयो भने कैलाश सिरोहियाको केसमा अदालतको अनुमति लिएर अपराधीलाई समात्दाखेरी राज्य व्यवस्था समितिको सभापति जाने हो ? भनेर संसद्मै भन्नुभयो । ठगीको केसमा सभापति होस् कि त्यो भन्दा माथि होस्, उपप्रधानमन्त्री होस् कि प्रधानमन्त्री नै होस् अपराध गरेर राजनीतिक कलर दिन पाईँदैन । कानुन भनेको कुनै व्यक्तिलाई एउटा अर्कोलाई फरक भन्ने हुँदैन । न्यायपालिकालाई प्रभाव पार्ने गरी काम नगर्न हामी आग्रह गर्न चाहन्छौं । जसले गरेको भएपनि यो ठीक होईन । यो भन्दा अगाडि पनि हाइ लेभलका नेताहरु पक्राउ परेका छन् । जुलुस निकाल्ने, नारबाजी गर्ने काम गरिएको थिएन । कानुनको धज्जी उडाउन थालियो । विधायकहरुले यसो गर्न हुँदैन,’– नेता खतिवडाले भने ।

नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपाका नेता तथा सांसदहरुले कानुनलाई असहयोग गर्ने, बाधा खडा गर्ने, विधायक स्वयंले कोण सभा गरीगरी कानुनले अनुसन्धानको प्रक्रियामा उभ्याएको व्यक्तिलाई रिहाई गर भनेर दवाब दिने, अनुसन्धानको प्रक्रियालाई असहयोग पुर्याउने, भीड जम्मा गर्ने र भीडबाट प्रशासनिक अंगहरुलाई निर्देशित गर्ने, धम्क्याउनेलगायत कानुनविपरीतको कार्य गरिरहेको बताउँछन् । हुलहुज्जत गरेर माफी, मिनाह र सफाइ नपाईने उनको भनाइ छ । रास्वपाका सांसदहरुले न्यायमाथि अवरोध गरिरहेको उनले टिप्पणी गरे ।

‘ल मेकरले कानुनी शासनको धज्जी उडाउँदै, सुशासनको एड्भोकेसी गर्ने, सुशासनको व्यानर बोकेर हिड्ने राजनीतिक दलले यस प्रकारको हुलहुज्जत गर्ने कुरा बेठीक छ । यो सच्याउनुपर्छ, कानुनलाई काम गर्न दिनुपर्छ ।’ नेता बर्तौलाले भने, ‘हुलहुज्जत गर्नेले सफाइ पाउने, हुलहुज्जत गर्नेले माफी मिनाह पाउने हो भने निहत्था जनताको बारेमा रास्वपाले बोल्न पर्दैन । रविको जस्तै गिरफ्तारीमा परेको आम सर्वसाधारणका बारेमा किन रास्वपाले कोण सभा नगरेको ? रास्वपा भएवापत अनुसन्धान गर्न पाइँदैन भनेर उहाँहरुले कि प्राइभेट विल दर्ता गराए भयो नि त ? रास्वपालाई छुन पाइँदैन, कड्के नजर लगाउन पाइँदैन । जे गरेपनि पाउँछौं भन्नुपर्यो कि उहाँहरुले । त्यसकारण उहाँहरुले जे गरिरहनुभएको छ, कानुनलाई हातमा लिने, कानु्नलाई असहयोग गर्ने, अनुसन्धानलाई प्रभावित गर्ने काम गरिरहनुभएको छ । यो उहाँहरुले गर्न पाउनुहुन्न ।’

त्यस्तै, वरिष्ठ अधिवक्ता एकराज भण्डारी रवि लामिछानेको पक्राउको विषयलाई लिएर रास्वपाले हड्ताल र जुलुस गर्नु गलत रहेको बताउँछन् । उनले रास्वपा सभापति लामिछानेलाई प्रहरीले हत्कडी नलगाएको पनि आक्रोश व्यक्त गरे । कानुन सबैलाई बराबरी हुनुपर्नेमा नेतालाई पक्रिएपछि हत्कडी नलगाउने र आम सर्वसाधरणलाई हत्कडी लगाउनु विभेद भएको उनले बताए ।

‘उहाँजस्तै अरु जनतालाई पनि हत्कडी लगाउन हुँदैन । राजनीतिक नेतालाई हत्कडी नलगाउने, अरु जनतालाई हत्कडी लगाउने हुन्छ ? सर्वसाधारण जनतालाई हत्कडी लगाउने, टर्चर दिने, पिट्ने, यो साह्रा काम सरकारले गरिराखेको छ । यो विभेदपूर्ण र गलत छ ।’ वरिष्ठ अधिवक्ता भण्डारीले भने, ‘आफ्ना पार्टीका नेता, कार्यकर्ता भए भने उसलाई कुनै पनि मुद्दा लाग्न नपर्ने, अनि अर्काको पार्टीको भएपछिमात्रै मुद्दा लाग्नुपर्ने ? त्यस्तो पनि हुन्छ कहीँ ? कुनै मान्छेलाई अपराधको अभियोग लागेकोमा अनुसन्धान गर्न लागेको कुरालाई लिएर हड्ताल, जुलुस गर्नु लगत छ ।’

त्यस्तै, एमालेकी सचिव पद्मा अर्याल रास्वपाले भीडबाट विधि र कानुनलाई निर्देशित गर्न खोजेको बताउँछिन् । उनले रास्वपा सांसदहरु सडकमा जानु गलत रहेको बताईन् । रवि लामिछाने निर्दोष हो भने निर्दोषिताको प्रमाण पेश गर्नसमेत उनले चुनौति दिईन् ।

‘उहाँले भिड जम्मा गरेर विधि र कानुनलाई निर्देशित गर्न खोज्नु भएको छ । भिडले कानुनलाई निर्देशित गर्दैन । संसद्ले बनाएको कानुन हो । यस्ता केस हरुमा कानुनले के भन्छ ? केही समय प्रतिक्षा गर्न पर्यो नि । उहाँ निर्दोष हो भने निर्दोष भएको प्रमाण लिएर जानुपर्यो नि । कसले फसाउँछ ?’ उनले भनिन् ।

आत्महत्या दुरुत्साहन प्रकरणबाटै भीड बटुल्न पल्किएका लामिछाने अहिले पनि भीडबाटै उन्मुक्तिको प्रयासमा छन् । लामिछानेको पदचाप पछ्याउने सांसदहरुले पनि कानुनी राज्य र कानुनको शासनको धज्जी उडाइरहेका छन् । कानुनलाई सहयोग गर्नु आम नागरिकको कर्तव्य हो । सांसद त झन आम जनताका प्रतिनिधि हुन् । उनीहरुले आफूमाथि प्रश्न उठेपछि नैतिक धरालतमा उभिने हिम्मत राख्नुपर्छ । कानुनी आधारमा नै लामिछानेलाई पक्राउ गरिँदा कसैले पनि हुलहुज्जत र विरोध गर्नु उचित होईन । यस्तो अवस्थामा हुलहुज्जत र भीड जम्मा गर्नु भन्दा पनि लामिछानेले सम्बन्धित निकायमा निर्दोषिताको प्रमाण पेश गर्नु उपयुक्त हुन्छ ।



प्रतिक्रिया दिनुहोस्