Logo

प्रधानमन्त्री ओलीलाई लिङ्देनले भने, ‘सरकार सय दिनमै पूर्ण असफल भयो’



काठमाडौं, ६ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार एक सय दिनमै पूर्ण रुपमा असफल भएको टिप्पणी गरेका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले हिजो विपक्षी दलहरुले ज्ञापन पत्र बुझाउने कार्यक्रममा प्रधानमन्त्रीलाई नै सरकार पूर्ण रुपमा असफल भयो भनेर जानकारी गराएको बताए । नेता लिङ्देनले प्रधानमन्त्री ओली र एमालेले जतिसुकै फुलबुट्टा भरेपनि मिनबहादुर गुरुङसँग लिएको जग्गाको बारेमा जनताले सकारात्मक रुपमा नलिनृे उनले बताए ।

‘मैले प्रधानमन्त्रीलाई भनेको छु, तपाईँले मिनबहादुर गुरुङसँग, अथवा एउटा व्यापारीसँग जग्गा लिनुभएको, पार्टीले लिएको कुरालाई जतिसुकै फूलबुट्टा भरेपनि जनताले सकारात्मक रुपमा लिएका छैनन् । सरकारको डेलिभरी चित्तबुझ्दो छैनमात्रै होईन, निराशाजनक छ । समग्रमा यो एक सय दिनमा सरकार असफल भएको छ भनेर मैले भने,’– नेता लिङ्देनले भने ।

साथै, फरक प्रसंगमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउका बारेमा आफ्नो कुनै टिप्पणी नरहेको बताए । उनले त्यस्तै प्रकृतिका मुद्दामा अरुहरुलाई पनि पक्राउ गरिनुपर्ने बताए । सहकारी ठगीको छानविन कुनै राजनीतिक दल र व्यक्तिमा पूर्वाग्रह राख्न नहुने उनको भनाइ छ ।

‘रवि लामिछानेको पक्राउका सन्दर्भमा मेरो कुनै टिप्पणी छैन । तर, त्यही प्रकृतिका अन्य अभियुक्तहरुलाई पनि पक्राउ गर्नुपर्छ, छानविन गर्नुपर्छ । यसलाई कुनै राजनीतिक दल र व्यक्तिलाई रिसिबी साध्ने मौकाको रुपमा उपयोग गर्न हुँदैन । सन्तुलन देखिनुपर्छ र निश्पक्षतापूर्वक छानविन हुनुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्