Logo

आईएसकेए किक् बक्सिङ वर्ल्ड च्याम्पियनमा नेपालका घिमिरेले फ्रान्सका मार्कोनीसँग प्रतिस्पर्धा गर्दै



काठमाडौं, ६ कार्तिक । जापानको नोगोया सहरमा हुन लागेको आईएसकेए किक् बक्सिङ वर्ल्ड च्याम्पियनमा नेपालको प्रतिनिधित्व गर्दै अविरल घिमिरे (हिमालयन चित्ता) खेल्ने भएका छन् । आगामी अक्टोबर २६ मा नोगोया कंग्रेस सेन्टरमा दिनको ३ बजेदेखि हुन गइरहेको उक्त वर्ल्ड च्याम्पियनसिप टाइटलमा उनले फ्रान्सका एन्टोनिन मार्कोनीसँग प्रतिस्पर्धा गर्ने भएका हुन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२ गुर्जुधारामा २०५६ सालमा जन्मिएका घिमिरेले हालसम्म २२ वटा के–वान किक् बक्सिङ खेलिसकेका छन् । जसमध्ये उनले १६ वटा खेल जितेका छन्, १५ वटा नकआउट हान्दै विश्वमा नेपाल र नेपाली नाम उच्च राख्न सफल भएका छन् । उनले यसअघि आईएसकेए किक् बक्सिङ वर्ल्ड च्याम्पियनका लागि थाइल्याण्डको टाइगर मुवाथाई क्याम्पमा बसेर अभ्यास पूरा गरिसकेका छन् ।

आफ्ना बाबु देव घिमिरेबाट प्रभावित भएर खेल क्षेत्रमा लागेका अविरल आईएसकेए किक् बक्सिङ वर्ल्ड च्याम्पियन खेल्ने पहिलो खेलाडी हुन् । उनका बाबु देव नेपालको पूर्व किकोसियन राष्ट्रिय खेलाडी एवं नेपालको पहिलो के–वान फाइटर हुन् । साथै, जापानको नोगोया सहरको चर्चित सिमुराडोजोका प्रशिक्षक पनि हुन् । देव हाल जापानमा बसेर विभिन्न सामाजिक संघ संस्थामा आवद्ध भएर सामाजिक काम गर्दै आइरहेका छन् । नेपालमा जन्मिएका नयाँ प्रतिभाका खेलाडीहरुलाई पनि उनले आफ्नै खर्चमा गेम खेलाउन जापान लाने गरेका छन् ।

अविरल खेल क्षेत्रमा छोटो समयमा इतिहास रच्ने पहिलो खेलाडी पनि हुन् । उनी हिट किक् बक्सिङका लगातार चौथो बेल्ट होल्डरसमेत हुन् ।



प्रतिक्रिया दिनुहोस्