Logo

रवि पक्राउबारे बोल्यो कांग्रेस, रास्वपाले राज्यका तटस्थ निकायलाई आतङ्कित बनाउन खोजेको आरोप



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सहकारी ठगीमा पक्राउपरेका रास्वपा सभापति रवि लामिछानेको समर्थनमा कार्यकर्ताले राज्यका तटस्थ निकायहरूलाई आतङ्कित र त्रसित बनाउन खोजेको भन्दै आपत्ति जनाएको छ ।

पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने पक्राउ परेको ६ दिनपछि कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेका समर्थकहरूले हुल–हुज्जत र सडक प्रदर्शन गरेर न्यायिक प्रक्रियामा हुने प्रारम्भिक अनुसन्धानलाई नै प्रभावित गर्ने र राज्यका तटस्थ निकायहरूलाई आतङ्कित तथा त्रसित पारी अनुचित दवाव सिर्जना गर्ने गतिविधि गरिरहेको आरोप लगाएको छ ।

राज्यका वैधानिक निकायबाट भैरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणको कार्यलाई वाधा पु¥याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता र सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल् पु¥याउने गतिविधिप्रति कांग्रेसले गम्भीर आपत्ति व्यक्त गर्दै भत्र्सना गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताएका छन् ।

‘कानून सबैका लागि समान हुन्छ र हुनु पर्छ । विधिको शासन भनेको कानूनका दृष्टिमा सबै नागरिक बराबरी हुनु हो । मुलुकका केही सहकारी संस्थामा रकम जम्मा गर्ने बचतकर्ताको बचत हिनामिना भएको, उक्त रकम बचतकर्ताले फिर्ता नपाएको र उक्त रकमहरु कानून विपरीत सहकारी संचालकहरुले निजी कम्पनीमा समेत दिई अपचलन गरेको भन्ने व्यापक गुनासो आएको र केही सहकारीको रकम अपचलन गरेको भनी गोर्खा मिडिया कम्पनीका संचालकहरु जीबी राई, छविलाल जोशी र प्रबन्ध निर्देशक एवं तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध विभिन्न निकायमा उजुर परेता पनि छानविन प्रकृया अगाडि नबढेको हुँदा प्रतिनिधि सभाका सांसदहरुले गृहमन्त्री स्वयं संलग्न रहेकोले प्रहरी प्रशासनले समयमा छानविन गर्न नसकिरहेको अवस्थामा प्रतिनिधि सभाबाट छानविनका लागि सहकारी छानविन संसदीय विशेष समिति गठन भयो । उक्त समितिले विस्तृत अध्ययन पश्चात दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएकोले वर्तमान मन्त्रिपरिषद्ले निर्णय गरी उक्त प्रतिवेदन कार्यान्वयनको प्रकृयामा रहेको व्यहोरा सबैमा अवगत नै छ’ कांग्रेसले भनेको छ ।

कांग्रेसले सहकारी रकम बचत दुरुपयोगबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदनले कार्वाहीका लागि सिफारिश गरेका संलग्न विभिन्न आरोपित व्यक्तिहरुलाई सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरिरहेको भन्दै रवि लामिछानेमाथि आरोप लागेपछि वैधानिक निकायबाट गरिने अनुसन्धान, छानविन र न्यायिक प्रकृयालाई सहयोग पु¥याउनु प्रत्येक नागरिकको कर्तव्य हुन्छ भने राजनीतिक दलको झन बढी जिम्मेवारी हुनु पर्ने बताएको छ। ‘तर राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भैरहेको गतिविधिहरुले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको छ’कांग्रेसले भनेको छ ।

प्रचलित कानून बमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भए पनि उनीहरु माथि समान ढंगले अनुसन्धान गरी कानूनी दायरामा ल्याउनु पर्छ भन्ने मान्यताप्रति कांग्रेस प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । ‘विधिको शासन कायम गर्न, न्यायिक प्रकृयालाई विश्वसनीय बनाउन, न्याय प्रणालीलाई स्वतन्त्र र निष्पक्ष बनाई राख्नु हामी सबैको कर्तव्य भएकोले हुनाले उत्तेजित र उच्छृङ्खल गतिविधि नगरी संयमित भई अनुसन्धान र न्यायिक प्रकृयामा सहयोग पु¥याउन सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकमा हार्दिक अपिल गर्दछौं’ कांग्रेसले भनेको छ ।



प्रतिक्रिया दिनुहोस्