Logo

राष्ट्रपति पौडेलसँग प्रचण्डसहित विपक्षी दलका नेताहरुको भेट, अध्यादेश आए रोकिदिन अनुरोध



काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विपक्षी दलका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।

बुधबार अपराह्न शीतल निवासमा उनीहरूले राष्ट्रपति पौडेललाई भेटेका हुन्। विपक्षी दलहरूले यसअघि प्रधानमन्त्री केपी ओलीलाई बुझाएको १३ बुँदे ज्ञापनपत्रको विषय समेत ब्रिफिङ गरेका थिए । सरकारले विपद् व्यवस्थापनको विषयमा ध्यान नदिएको, सत्ता पक्ष र विपक्षी दलहरू मिलेर राष्ट्रिय समस्या समाधान गर्नुपर्ने बेलामा दल विभाजन गर्नतिर उद्धत रहेको लगायत विषयमा राष्ट्रपतिसमक्ष ब्रिफिङ गरिएको छ ।

राष्ट्रपति पौडेलसँगको भेटमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे तथा आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न अध्यादेश ल्याउन खोजेको आशंका गर्दै उक्त विधेयक आएमा जारी नगर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय विपक्षी दलहरूले गरेका थिए।

यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी दलहरूका तर्फबाट १३ बुँदे ज्ञापनपत्र बुझाइएको थियो।

विपक्षी दलहरूको समूहमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र आम जनता पार्टी छन्।



प्रतिक्रिया दिनुहोस्