Logo

प्रचण्डको नेतृत्वमा भ्रष्टाचारविरोधी आन्दोलन गर्नु नेपाली जनताको अवमूल्यन र उनीहरूमाथि ठूलो मजाक हो: बाबुराम भट्टराई



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरू एक ठाउँमा आउनुपर्ने कुरा गर्ने थालिएको भन्दै कटाक्ष गरेका छन् । उनले भर्खरै सत्ताको खेलबाट बाहिर फालिएपछि प्रचण्डले सुशासनको मुद्दा उठाएको पनि टिप्पणी गरेका छन् ।

‘प्रचण्ड निकट केही साथीहरूले फेरि एकपटक हामीलाई समेत जोडेर पूर्वमाओवादीहरू एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेका छन्,’ भट्टराईले ट्विटरमा लेखेका छन्, ‘अनि भर्खरै सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले सुशाशनको मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिइरहेछन्’ ।

उनले पूर्वमाओवादीहरू किन एक ठाउँमा जम्मा हुने भन्दै तीखो प्रश्न उठाएका छन् । ‘पहिलो कुरा, सबै पूर्वमाओवादीहरू किन एक ठाउँमा जम्मा हुने ? अर्को जनयुद्ध गर्न ? या भोजभतेर गर्न’ भट्टराईले भनेका छन्, ‘या फेरि एकपटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउन ? यसको वैचारिक-राजनीतिक औचित्य र आधार के हो ?’

भट्टराईले पुरानो जनयुद्धकालीन अवस्थाका निम्ति उपयुक्त माओवादी विचार-राजनीति र स्टालिनवादी अति केन्द्रीकृत ढाँचाको कम्युनिष्ट पार्टीको माध्यमबाट नयाँ युगका कार्यभार पूरा गर्न नसक्ने पनि जनाएका छन् । अगाडि बढेको राजनीतिक उपरिसंरचना र पछाडि परेको आर्थिक-सामाजिक-सांस्कृतिक आधारबीचको प्रधान अन्तरविरोधलाई छिटो हल गरेर बाँकी विश्वसँग पदचाप मिलाउँदै अघि बढ्नुपरेको उनको भनाइ छ ।

‘हिजो जनयुद्धकालमा पनि हामीले वैचारिक(राजनीतिक कार्यदिशा ठीक हुनु वा नहुनुले नै क्रान्तिमा सबै कुराको फैसला गर्छ भन्ने गरेका होइनौँ ?’ भट्टराईले भनेका छन्,’तर, अहिले समय र परिस्थिति अनुकुल नयाँ कार्यदिशा, संगठन, नेतृत्वको क्षेत्रमा विकासबारे कुनै चर्चा नगरी खाली भावनात्मक ढंगले सबै पूर्वमाओवादी एक ठाउँमा आउँ भन्नुको के अर्थ रहन्छ ?’

भट्टराईले अब प्रचण्डको नेतृत्वमा मुलुकमा सुशासन कायम हुन नसक्ने पनि उल्लेख गरेका छन् । ‘अब प्रचण्डको नेतृत्वमा’भ्रष्टाचारविरोधी सुशाशन’को निम्ति आन्दोलन गर्नु भनेको नेपाली जनताको सहज बुद्धीको अवमूल्यन र उनीहरूमाथि ठूलो मजाक हो’, भट्टराईले लेखेका छन्,’जनयुद्धकालको मध्यचरणदेखि नै वर्गउत्थानीकरण हुँदै गएका प्रचण्ड र उनका आसेपासेहरूको शान्तिप्रकृया यताको तीव्र नैतिक स्खलन तथा कथनी र करणीबीचको अन्तर कसले बुझेको छैन र ?’



प्रतिक्रिया दिनुहोस्