Logo

रवि छुटाउन पोखरा गएका रास्वपाका नेता रित्तो हात फर्किए, आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने



काठमाडौं, कार्तिक ९। सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि उनलाई छुटाउन पोखरा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु रित्तोहात काठमाडौं फर्किएका छन् । बिहीबार अदालतले रविलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएपछि रास्वपाका नेताहरु रित्तोहात फर्किएका हुन् ।

रित्तो हात काठमाडौंमा फर्किएका रास्वपाका कार्यकर्ताले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका छन् । गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन् । पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले आजमात्रै थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सडक प्रदर्शन गरेर लामिछानेलाई छुटाउने प्रयास गरेको रास्वपाले पोखरामा स्थानीय जनताको साथ पाउन सकेको थिएन । स्थानीयको सहभागिता नभएपछि रास्वपाका नेताहरुले घरदैलो समेत गरेर भिड जम्मा गर्ने प्रयास गरेका थिए । तर त्यो पनि असफल भएपछि अब उनीहरुले काठमाडौँमा प्रदर्शन गर्ने भएका हुन् ।

रास्वपाले लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको आरोप लगाउदै आएपनि लामिछाने र उनका व्यावसायिक साझेदार छविलाल जोशीविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी भएको छ। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता नारायणबहादुर पहराईको जाहेरीका आधारमा जिल्ला न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले पक्राउ गर्न अनुमति दिएको हो।

अदालतले छविलाल जोशी, रवि लामिछाने, दीपक लामा, अनन्त बाबु राई, श्री बल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङलाई पक्राउ गर्न अनुमति दिएको हो । लामिछानेसहित १२ जनाविरुद्ध गत असोज ५ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तासमेत रहेका पहराईले पूरक जाहेरी दिएका थिए ।

सहकारी संस्थाको बचत रकम यी विपक्षीहरु शेयर सदस्य सञ्चालक समितिका पदाधिकारी र बैंकिङ कारोबारमा आधिकारिक हस्ताक्षरकर्ताहरु भएको मिसिल संलग्न कागजातबाट देखिएको पक्राउ आदेशमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस्