Logo

झम्टिझम्टि प्रतिनिधिसभा विघटन गर्न खोज्ने ओलीले आज पार्टी फुटाउनको लागि अनेक हर्कत गरिरहेका छन्: अग्नि सापकोटा



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले वर्तमान सरकार दलाल बिचौलियाले बनाएको पुष्टि भएको आरोप लगाएका छन् ।

शनिवार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध काठमाडौँमा माओवादी केन्द्रले गरेको खबरदारी सभामा बोल्दै सापकोटाले अहिले देशमा पहिलो र दोस्रो ठुलो दलबाट बनेको सरकार अरू कसैले बनाइदिएको सरकार भएको पुष्टि भएको आरोप लगाएका हुन् । फरक प्रशंगमा पूर्व सभामुखसमेत रहेका सापकोटाले ठूला दलहरु नेपाललाई भ्रष्टाचारको दलदलमा फसाएर देशको अस्तित्व मेट्न लागिरहेको आरोप लगाए ।

‘भ्रष्टाचार भनेको कुनै पैसाको कुरा होइन। भ्रष्टाचार भनेको राष्ट्रिय सुरक्षा हो, राष्ट्रियता हो। भ्रष्टाचारले आक्रान्त हुँदै राष्ट्रलाई कमजोर पार्दै अहिले हाम्रो महान गौरवशाली मातृभूमि नेपाललाई भ्रष्टाचारको दलदलमा फसाएर देशको अस्तित्व मेट्न लागिरहेका छन्,’ सापकोटाले भनेका छन्।

उनले आवश्यक परेको खण्डमा माओवादीले सधैँ विपद्को भूमरीबाट देशलाई बचाउन लागिपरेको पनि बताए। उनले अहिले सरकारलाई काठमाडौँबाट खबरदारी गरे पनि सरकारले सुनेन भने देशव्यापी रूपमा खबरदारी गर्न तयार रहेको उल्लेख गरे ।

उनले ओली नेतृत्वको सरकारले लोकतन्त्रको कुरा गर्नु हाँस्यापद भएको टिप्पणी गरे। उनले भने, ‘झम्टिझम्टि प्रतिनिधिसभालाई विघटन गर्न खोज्नेले आज पनि पार्टी फुटाउनको लागि अनेक हर्कत गरिरहेको छ। पार्टीहरुलाई कमजोर गरेर लोकतन्त्रको रक्षा हुन सक्छ। लोकतन्त्रको भावना सरकारमा बसेका भन्दा हामीले बढी बुझेका छौं।’



प्रतिक्रिया दिनुहोस्