Logo

सत्ता साझेदार दलका भ्रष्ट नेता जोगाउने खेलमा ओली सरकार लाग्यो: प्रभु साह



काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्टहरुसंगको साठगाठले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमाले दुबै गन्हाइसकेको टिप्पणी गरेका छन् ।

आजपाको ललितपुर जिल्ला कमिटीद्धारा आज ललितपुरको बालकुमारीमा आयोजित जिल्ला भेला एवं दिपावली तथा छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनका भ्रष्ट नेतालाई जोगाउने खेलमा सरकार लागेको गम्भिर आरोप लगाए ।

‘आफूले गरेको कुकर्मको कारण जनता सडकमा उर्लिएर हटाउने (प्रधानमन्त्री ओलीलाई) पक्का भएको आभाष भएपछि सडकबाट विकल्प खोजिए ठीक हुँदैन भनेर सत्तारुढ गठबन्धनले धम्क्याउनु अपराध हो’ साहले भने ।

आम जनता पार्टीले तेस्रो जनआन्दोलनको उद्घोष गत चैत्रमा नै गरिसकेको छ । आजपा अध्यक्ष साहले जनताले अब सडकबाटै यो सरकार र व्यवस्था फाल्ने बताउँदै भने, ‘अब सडक संघर्षबाट अहिलेको अधिनायवादी सोच भएका प्रधानमन्त्रीलाई फ्याँक्ने निश्चित् छ । कुनै कामै नलाग्ने यो व्यवस्था पनि फालिन्छ ।’

मुलुक र जनताको आवश्यक्ता पुरा गर्नमा असफल भएको प्रधानमन्त्री ओली नेतृत्वको सरकार अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउनमा समेत असफल रहेको टिप्पणी उनले गरे । ‘अन्तर्राष्ट्रिय सम्बन्धमा केपी ओली बेपत्ता हुनुभयो, गुमनाम हुनुभयो । भारत र चीनले भ्यालु नै दिएनन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले न सम्मान दिनुभएको छ र भ्रमणको निम्तो, चीनको पनि बेवास्ता छ । नेपाली जनताबाट बहिष्कृत भईसकेको यो सरकारलाई विदेशी शक्तिको पनि साथ, समर्थन छैन् ’उनले भने ।

यो सरकारले मुलुकलाई आर्थिक संकटमा लगिसकेको बताउँदै उनले राष्ट्र र जनतालाई ऋणको भारी बोकाउने, देशलाई पछि धकेल्ने काम मात्रै भएको बताए । शान्तिपूर्ण आन्दोलनमाथि दमन गर्नु ‘नाजीवादी’ सोच भएको बताउदै आजपा अध्यक्ष साहले न्यायको माग गर्दै सडकमा प्रदर्शन गर्ने न्यायप्रेमी जनतालाई राजाको शाही शासनजस्तो दमन गर्न खोज्नु भनेको पतनको बाटो रोज्नु जस्तो भएको बताए ।

साहले सरकारको नेतृत्व गरिरहेको एमाले पूर्ण रुपमा भ्रष्टीकरणको बाटोमा रहेको बताए । प्रधानमन्त्री ओलीको तन ढाक्दाढाक्दै सिंगो एमालेजनहरु नै अहिले नाँग्गिनुपरेको उनले बताए । ‘मदन भण्डारीलाई अपमान गर्न मदनगरमा पार्टी कार्यालय नबनाएर विवादित व्यवसायीसँग अरबौं रुपैयाँमा जग्गा दान लिने र भवन बनाउन तम्सिनु पनि अपराध हो । सबै हिसाबले एमाले र यसको नेतृत्व पतनको बाटोमा छन् । भ्रष्टाचारीलाई बोक्ने ओली गन्हाईसकेका छन् । उनीसँग टाँसिएर बस्नेहरु पनि दुर्गन्धित हुने निश्चित् छ’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्