Logo

हिरासतमा रविमाथि दुर्व्यवहार भएको रास्वपाको आरोप कास्की प्रहरीद्धारा खण्डन, अनुमानका आधारमा भ्रम नफैलाउन अनुरोध



काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा दूव्यर्वार भएको रास्वपाको आरोपप्रति कास्की प्रहरीले आपत्ति जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आज एक प्रेस विज्ञप्ति जारी गरेर भ्रामक तथा कपोकल्पित विचार टिकटक लगायत सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरुबाट जनमानसमा गलत सूचना सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ’, जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुरालाई सम्प्रेषण नगरी, सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार, सन्देशमात्र सम्प्रेषण गर्न पनि कास्की प्रहरीले अनुरोध गरेको छ ।

गत सातादेखि पूर्व गृहमन्त्री लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । अदालतले सुरुमा उनलाई पक्राउ परेको दिनदेखि लागू हुने गरी ६ दिनको म्याद दिएको थियो भने दोस्रो पटक अनुसन्धानका लागि थप ७ दिनको म्याद दिएको थियो ।

सोही क्रममा रविको पक्षमा वकालतका लागि केही व्यक्तिले इजलासमै दुर्व्यवहार भएको र अपशब्द प्रयो गरिएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्