Logo

सरकारले रवि लामिछानेलाई भ्रष्टाचारी भनेको छैन, कानुनभन्दा माथि कोही हुँदैन: कांग्रेस सांसद प्रसाईं



काठमाडौं । नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईले सरकारले रास्वपाका सभापति रवि लामिछानेलाई भ्रष्टाचारी नबनेको जिकिर गरेकी छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशाशन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलमा बोल्दै सांसद प्रसाईले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति लामिछानेको बचाउमा उत्रिएका नेता तथा कार्यकर्तालाई लक्षित गर्दै यस्तो जिकिर गरेकी हुन् ।

उनले भनिन्, “कानुन त सबैलाई लाग्नुपर्‍यो नि । सरकारले रवि लामिछानेलाई भ्रष्टाचारी भनेको छैन । कानुनभन्दा माथि कोही छैन, पर्खनुपर्छ ।”

उनले यसअघि पनि उच्चपदस्थ राजनीतिक व्यक्ति पक्राउ परेको भए पनि यसरी सडकमा आन्दोलनमा कोही नउत्रिएको र राज्यलाई गालीगलौज नगरेको बताइन् ।

उनले भनिन्, ‘उनले मुख छोडेर हिँडेको पनि देखेका छैनौं । यसअघि पक्राउ पर्दा त कोही-कसैले सडकमा आन्दोलन गरेनन् । सरकारलाई गाली गर्दै हिँडेनन् ।’

सहकारी ठगीको आरोपमा पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने १२ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिमलगायतका सहकारीबाट रकम लगेर गोर्खा मिडियामा खर्च गरेको उनीमाथि आरोप छ । यता रास्वपाका नेता तथा कार्यकर्ताले भने रविलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको दाबी गर्दै सडक तताइरहेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्