काठमाडौं, १३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सह–प्रवक्ता रमेश प्रसाईँले वर्तमान सरकारको कदम अपराधी, पूर्वाग्रही र राजनीतिक प्रतिशोधपूर्ण रहेको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकारले सहकारी पीडितहरुको पीडालाई विषयान्तर गर्न, पार्टीनिकट ठगहरुलाई चोख्याउन साह्रा आरोप रवि लामिछानेमाथि लगाइएको बताएका हुन् ।
नेता प्रसाईँले वर्तमान सरकारलाई सहकारी पीडितहरुसँग कुनै सरोकार नै नरहेको बताए । सूर्यबहादुर थापा क्षेत्रीको नेतृत्वमा बनेको सहकारी ठगीसम्बन्धी संसदीय छानविन विशेष समितिले सहकारीको ८८ अर्ब अपचलन भएको भएको भनी प्रतिवेदन दिएपनि सरकार भने मात्रै रवि लामिछानेको पछि लागेको उनको भनाइ छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, नेकपा (एमाले) का नेता ऋषिकेश पोखरेल, देवकुमार नेपालीलगायतका विषयमा सरकार मौन बसेको उनको आरोप छ ।
‘आजको राज्यलाई सहकारी पीडितहरुसँग कुनै सरोकार छैन । यदि सहकारी पीडितहरुसँग सरोकार हुन्थ्यो भने आजको सरकारले, सत्तारुढ दलहरुले धनराज गुरुङको अपचलनको चर्चा किन गर्दैनन् ? ऋषिकेश पोखरेलको अपचलनको चर्चा किन हुँदैन ? देवकुमार नेपालीको चर्चा किन गर्दैनन् ? संसदीय छानविन समितिको प्रतिवेदनले ८८ अर्बको अपचलन भएको छ भन्छ,’– प्रसाईँले भने ।
साथै, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपामाथि प्रतिशोधपूर्ण व्यवहार गरेको उनको आरोप छ । प्रधानमन्त्रीले रास्वपालाई आफूहरुको भाग खोस्न आएको खन्चुवासमेत भनेको उनले बताए । ‘नौटङ्की मच्चाउने आजको प्रमुख पात्र कोही हो भने प्रधानमन्त्री हो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली । ….हामीलाई प्रधानमन्त्रीले के भन्नुभयो सुन्नुभएको छ तपाईँले बाल दिवसमा ? हाम्रो भाग खोस्न आएका खन्चुवाहरु भन्नुभएको छ प्रधानमन्त्रीले,’– नेता प्रसाईँले भने ।
वर्तमान सरकारले कांग्रेस महामन्त्री गगन थापाको इगो सम्बोधन गर्न र आफ्नो कुर्सी जोगाउनका लागि रास्वपा सभापति लामिछानमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको उनको आरोप छ । वर्तमान सरकार नैतिक रुपमा मरिसकेको उनको भनाइ छ ।