Logo

एनपीएलका लागि विदेशी खेलाडी भित्र्याउने चटारोमा फ्रेन्चाइज टोली, हालसम्म को कहाँ भए अनुवन्धित ?



काठमाडौं । आगामी मंसिर १५ गतेदेखि सुरु हुने पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को लागि खेलाडी छनोटको काम धमाधम चलिरहेको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको एनपीएलका लागि ८ वटा फ्रेन्चाइज टिमले सहभागीता जनाउनेछन् ।

एनपीएलमा भाग लिने ८ टिमले एक एक जना मार्की खेलाडी र अन्य १० जना स्वदेशी खेलाडी अक्सनमार्फत खरिद गरिसकेका छन् भने अहिले प्रत्येक टिम ४-४ जना विदेशी खेलाडी भित्र्याउने चटारोमा छन् । ४ जना विदेशी एक जना स्थानीयसहित प्रत्येक टिमबाट १६ जना खेलाडी एनपीएलमा सहभागी हुनेछन् ।

एनपीएलका लागि ८ टिमले हालसम्म १४ जना विदेशी खेलाडीलाई अनुबन्ध गरिसकेका छन् भने अन्य खेलाडी अनुवन्धित हुने क्रममा रहेको क्यानले जनाएको छ । एनपीएल खेल्ने भारत र पाकिस्तानसहितका अन्य देशका खेलाडीले आकांक्षा राखेका छन् । हालसम्म भारतका कुनै पनि खेलाडी अनुवन्धित भएका छैनन् ।

यी हुन् हालसम्म विदेशी खेलाडी भित्र्याउने फ्रेन्चाइज टोली

लुम्बिनी लायन्सः राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेल– मार्की खेलाडी रहेको लुम्बिनीले हालसम्म दुई जना विदेशी खेलाडी भित्र्याईसकेको छ । लुम्बिनीले अस्ट्रेलियन अलराउन्डर बेन कटिङ र इङ्ल्यान्डका क्रिकेटर टोम मोरिसलाई भित्र्याएको हो ।

३८ वर्षका बेनले अस्ट्रेलियाका लागि ४ एक दिवसीय अन्तर्राष्ट्रिय र ७ टी- २० आई खेलेका छन् । उनी सनराइजर्स हैदरावाद, मुम्बई इन्डियन्स्, कोलकाता नाइट राइडर्सलगायतमा रहेर इन्डियन प्रिमियर लिग खेलिसकेका छन् ।

लुम्बिनी लायन्सबाटै खेल्न लागेका इङ्ल्यान्डका क्रिकेटर टोम मोरिस विकेटकिपर ब्याटर हुन् । यद्यपि, उनले इङ्ल्यान्डबाट अन्तर्राष्ट्रिय क्रिकेटमा अवसर पाइसकेका छैनन् ।

लुम्बिनीले यसअघि अक्सनमार्फत नेपालका सूर्य तामाङ, बिबेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलक राज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम र बिकाश अग्रीलाई खरिद गरिसकेको छ । अब उसले एक जना स्थानीय र दुई जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछ ।

विराटनगर किंग्सः सन्दीप लामिछाने – मार्की रहेको विराटनगरले पनि हाल सम्म दुई जना विदेशी खेलाडी भित्र्याएको छ । विराटनगरले क्यानडाका कप्तान निकोलस किर्टोनलाई अनुबन्ध गरेको छ । विराटनगरले दोस्रो विदेशी खेलाडीका रूपमा २६ वर्षीय ब्याटिङ अलराउण्डर निकोलस किर्टोनलाई अनुबन्ध गरेको जनाएको छ ।

कीर्टोनले क्यानाडाका लागि १८ ओडीआई र २५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा उनले दुई अर्धशतसहित ५६४ रन बनाएका छन् ।

विराटनगरले यसअघि पहिलो विदेशी खेलाडीको रुपमा ओमानका कप्तान अकिब इल्यासलाई अनुबन्ध गरिसकेको छ । अकिबले ओमानका लागि ३२ ओडीआई र ५६ टी-२० आई क्रिकेटमा गरी २ हजार ५६४ रन जोडेका छन् । अकिबले राष्ट्रिय टिमबाट ७० विकेट पनि लिएका छन् ।

लोकेश बम, प्रतिश जीसी, बशीर अहमद, राजेश पुलामी मगर,जितेन्द्र कुमार मुखिया, अनिल खरेल,दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मृनाल गुरुङ विराटनगरले अक्सनमार्फत छानेका खेलाडी हुन् ।

पोखरा एभेन्जर्सः राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याटसम्यान कुशल भुर्तेल – मार्की रहेको पोखराले पनि हालसम्म २ जना विदेशी खेलाडी टिममा भित्र्याएको छ । पोखराले अमेरिकन ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ । गौस एनपीएलमा आवद्ध हुने पहिलो विदेशी खेलाडी हुन् ।

३० वर्षीय दायाँ हाते ब्याटर गौसले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा ५९८ रन बनाएका छन् । अमेरिकाबाटै तीन एकदिवसीय खेल्दा १५२ रन बनाएका गौसले सन् २०२४ मा क्यानाडाविरुद्ध डेब्यु गर्दै अमेरिकाको प्रतिनिधित्व गरेका थिए ।

त्यस्तै पोखराले दोस्रो खेलाडीको रुपमा नेदरल्यान्ड्सका अलराउन्डर बास डी लिडेलाई अनुबन्ध गरेको छ । सामाजिक सञ्जालमार्फत पोखरा एभेन्जर्सले लिडेलाई टिममा अनुबन्ध गरेको जानकारी दिएको छ । २४ वर्षीय लिडेले नेदल्यान्ड्सको राष्ट्रिय टिमबाट टी-२० आईका ३५ खेलमा ६९७ रन जोडेका छन् भने ३३ विकेट लिएका छन् ।

यसअघि अक्सनमार्फत पोखराले सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलीप नाथ, त्रितराज दास, सुनाम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई खरिद गरेको थियो ।

कर्णाली याक्सः सोमपाल कामी– मार्की रहेको कर्णालीले भने हालसम्म एक जनामात्र विदेशी खेलाडी भित्र्याएको छ । कर्णाली याक्सले पाकिस्तानी अलराउन्डर हुसैन तलातलाई पहिलो खेलाडीको रुपमा भित्र्याएको हो । तलात टेस्ट राष्ट्रबाट एनपीएलका लागि अनुबन्ध हुने पहिलो खेलाडी पनि बनेका छन् ।

पाकिस्तानको राष्ट्रिय टिमबाट तलातले टी-२० आईका १८ खेलमा ३९४ रन बनाएका छन् । सन् २०१८ मा वेष्ट इन्डिजविरुद्ध खेल्दै तलातले टी-२० आई क्रिकेटमा डेब्यु गरेका थिए ।

कर्णालीमा सोमपाल बाहेक गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, ऋत गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे र युनिश बिक्रम सिंह ठकुरी अक्सनमार्फत छनोट भएका छन् ।

काठमाडौं गुर्खाजः करण केसी मार्की रहेको काठमाडौं गुर्खाजले नेदरल्यान्ड्सका माइकल लेभिटलाई अनुबन्ध गरेको छ । काठमाडौं गुर्खाजले पहिलो विदेशी खेलाडीका रूपमा एनपीएलका लागि नेदरल्यान्ड्सका विष्फोटक ब्याटर लेभिटलाई अनुबन्ध गरेको हो । लेभिटले नेदरल्यान्ड्सका लागि ८ ओडीआई खेलमा १८४ रन र १७ टी-२० आई खेलेमा ५५० रन बनाएका छन् ।

काठमाडौंले शाहब आलम, भीम शार्की, रसिद खान, शंकर राना, दिपेश प्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, बिबेक केसी, प्रतीक श्रेष्ठ र राजु रिजाललाई यसअघि नै छनोट गरेको छ ।

सुदूरपश्चिम रोयल्सः दिपेन्द्र सिंह ऐरी – मार्की रहेको सूदूरले हालसम्म दुई जना विदेशी खेलाडी भित्र्याएको छ । फ्रेन्चाइज टिम सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमलेनलाई अनुवन्धन गरेको छ । २५ वर्षीय ब्रान्डनले टी-२० आईका १६ खेलमा ४९७ रन बनाएका छन् । २२ ओडीआई खेलमा ब्रान्डनले ७२१ रन जोडेका छन् ।

२२ ओडीआई खेलमा ३० विकेट लिँदा टी-२० आईका १६ खेलमा २ विकेट लिएका छन् । ब्रान्डनले टी-२० आईमा सन् २०२३ जुलाई २० मा जर्मनीविरुद्ध डेब्यु गरेका थिए ।

त्यस्तै सुदूरपश्चिमले इंग्लिस क्रिकेटर सेफ अलि जेबलाई पनि दोस्रो खेलाडीको रुपमा अनुबन्ध गरेको छ । पहिलो संस्करणको एनपीएलका लागि सुदूरपश्चिम रोयल्सले २६ वर्षीय बायाँ हाते अलराउन्डर जेबलाई अनुबन्ध गरेको हो ।

सन् २०१५ मा १६ वर्षको उमेरमा पहिलो श्रेणी क्रिकेटमा डेब्यु गरेपछि सेफले इंग्ल्याण्डका लागि उमेर समूहको क्रिकेट पनि खेलेका थिए । टी-२० मा १२ सय रन जोडेका सेफले पार्टटाइम बलिङ गर्दै १२ विकेट लिएका छन् ।

सुदूरपश्चिममा दीपेन्द्रका अतिरिक्त आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडक बहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ र नरेन साउद छनोट भएका छन् ।

जनकपुर बोल्ट्सः आसिफ शेख – मार्की रहेको जनकपुरले अमेरिकी युवा क्रिकेटर जोसुवा ट्रोम्पलाई अनुबन्ध गरेको छ ।

शुक्रबार सामाजिक सञ्जालमार्फत जनकपुर बोल्ट्सले अमेरिकी अलराउन्डर १९ वर्षीय ट्रोम्पलाई टिममा भित्र्याएको जानकारी दिएको थियो । दायाँ हाते ब्याटर ट्रोम्पले ८ टी-२० खेलमा ९४ रन जोडेका छन् ।

जनकपुरले दोस्रो खेलाडीको रुपमा न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसमलाई टिममा भित्र्याएको छ । निसमलाई भित्र्याएसँगै जनकपुर उत्साही बनेको छ । निसमले न्युजिल्यान्डका लागि टेस्ट, ओडीआई टी-२० तीनै फर्म्याटमा खेलिसकेका छन् । उनीसँग आईपीएललगायत लिग खेलेको अनुभव पनि छ ।

जनकपुरले ललित राजवंशी, अनिल कुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव र तुलबहादुर थापा मगरलाई यसअघि लिइसकेको छ ।

चितवन राइनोजः कुशल मल्ल मार्की रहेको चितवन राइनोजले इंग्लिस युवा अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाइनलाई अनुबन्ध गरेको छ । त्यस्तै चितवनले दोस्रो खेलाडीको रुपमा दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्रस्यंट डी ल्याङ्गलाई अनुबन्ध गरेको छ ।

दायाँ हाते ब्याट्सम्यान तथा बलर विश्व फ्रेन्चाइजी क्रिकेटमा प्रभावकारी खेलाडी मानिन्छन् । उनले यस फर्म्याटका १५१ टी–२० खेल खेलेका छन् । ग्ल्यामोर्गन, समरसेट र ग्लुसेस्‍टर सायरजस्ता टोलीबाट काउन्टी क्रिकेट खेलेको उनीसँग अनुभव छ ।

रिजन ढकाल, कमल सिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दिपक बोहरा, रंजीत कुमार र गौतम केसीले पनि चितवनबाट एापीएल खेल्नेछन् ।



प्रतिक्रिया दिनुहोस्