काठमाडौं । अन्तःशुल्क स्टिकर खरिद घोटाला प्रकरणमा निलम्बित मुख्यसचिव डा वैकुठ अर्यालले सफाइ पाएका छन् । बुधबार विशेष अदालतले डा अर्यालसहित ११ जनालाई सफाइ दिएको हो ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक सफल श्रेष्ठलाई दोषी ठहर गदार्म अन्य ९ जनालाई भने सफाइ दिएको हो ।
यसरी साफाइ पाउनेमा तत्कालीन मुख्यसचिव डा अर्यालसहित सहसचिवद्वय रितेशकुमार शाक्य र टंकप्रसाद पाण्डेलाई छन्। उनीहरूको अन्तःशुल्क स्टिकरमा भएको भ्रष्टाचारमा संलग्नता पुष्टि हुन नसकेको भन्दै विशेष अदालतले सफाइ दिएको हो।
त्यस्तै उक्त मुद्दाका प्रतिवादीहरु आन्तरिक राजश्व विभागका निर्देशक गणेश विक्रम शाही, शाखा अधिकृत रविन्द्रप्रसाद पौडेल र हरिवल्लभ घिमिरे तथा लेखा अधिकृत विष्णुप्रसाद गौतमले पनि विशेष अदालतबाट सफाइ छन्। त्यसैगरी खरिद परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्ट सेल प्रालिका निर्देशक केशव शर्माले पनि सफाइ पाएका छन्।
अख्तियारले गत असार ९ गते तत्कालीन मुख्यसचिव डा। अर्याल, विकल पौडेलसहित ११ जनालाई अन्तःशुल्क स्टिकर खरिद घोटालामा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। ११ मध्ये २ प्रतिवादी दोषी ठहर भएका छन् भने ९ जना प्रतिवादीले भ्रष्टाचार मुद्दाबाट सफाइ पाएका छन्।
अन्तशुल्क स्टिकर छपाइमा ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा असार ९ मा मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचार मुद्दामा सफाइ पाएका तत्कालीन मुख्यसचिव डा अर्यालको पदावधि १ वर्ष बाँकी रहेको छ । यद्यपि उनी सोही पदमा बाहल हुने नहुनेमा भने अनिश्चित देखिएको छ । प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले भ्रष्टाचार मुद्दा लागेपछि अर्याललाई राष्ट्रिय योजना आयोगमा मुख्यसचिव सरहको पद सिर्जना गरेर जगेडामा थन्क्याएको थियो । अर्याललाई मुद्दा लागेपछि छोटो समय लिलादेवी गड्तौला मुख्यसचिव भइन् भने हाल एकनारायण अर्याल मुख्यसचिव छन् ।
भ्रष्टाचार मुद्दामा सपाइ पाएका डा अर्याललाई तिहारपछि प्रधानमन्त्री कार्यालयमा पदवहाली गर्न पाउने छन् । यो अवस्थामा देशमा दुई वटा मुख्यसचिव हुने छन् । हाल मुख्यसचिव एकनारायण अर्याल छन् भने अदालतबाट सफाइ पाएका वैकुण्ठ अर्यालको पदावधि बाँकी रहेका कारण उनी पनि सोही पदमा रहने देखिन्छ ।
सरकारले निलम्बित भएपछि उनलाई मुख्यसचिव सरहकै पद सिर्जना गरेर योजना आयोगमा सरुवा गरेको थियो । सरकारले उनलाई सोही पदमा काम गराउन पनि सक्ने छ । तर त्यसका लागि उनी तयार हुनुपर्ने छ । जुन सम्भावना कम रहेको जानकारहरु बताउँछन् ।
तत्कालीन मुख्यसचिव डा शंकरदाश वैरागीलाई बीचैमा राजीनामा गर्न लगाएर मुख्यसचिव भएका अर्यालले फेरि पुरानै जिम्मेवारीमा फर्किने अडान राखुन सक्ने स्रोतको दाबी छ । हाल मुख्यसचिव रहेका एकनारायण अर्याल प्रधानमन्त्री केपी शर्मा ओलीका अत्यन्तै निकट व्यक्ति हुन् । वैकुठले योजना आयोगमा जान नमाने एकनारायणलाई मुख्यसचिवमै टिकाउन वैकुण्ठलाई मन्त्री सरहको सेवा सुविधादिने गरी कुनै देशको राजदूत बनाउन सकिने देखिन्छ ।