Logo

रास्वपाले देशलाई अराजकतातर्फ लैजान खोजेको एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको आरोप



काठमाडौं, १५ कार्तिक । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकलाई अराजकतातर्फ लैजान चाहने तत्वहरुले आफ्नो पार्टी र प्रधानमन्त्रीका विरुद्ध नाराबाजी गरिरहेको टिप्पणी गरेका छन् । सहकारी ठगी र संगठित अपराधको अनुसन्धानमा पत्रकार परेका रवि लामिछानेको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदर्शन गरिरहेको तर्फ लक्षित गर्दै उनले मुलुकलाई अराजकतातर्फ लैजाने षड्यन्त्र भइरहेको बताएका हुन् ।

शुभ दिपावलीको अवसरमा एमाले ओखलढुङ्गा काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब अराजकताको विरुद्धमा खबरदारी गर्नुपर्ने जरुरत रहेको बताए । नेता पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरु लोकतान्त्रिक विधि, प्रक्रिया, नियम, कानुनमा चल्नुपर्ने बताए । रास्वपाले अदालतको प्रक्रियालाई नै स्वीकार नगरेको बताउँदै उनले भने, ‘अदालतको प्रक्रियालाई स्वीकार गर्नुपर्छ । चित्त नबुझ्न सक्छ, तर स्वीकार गरेर जानुपर्छ । त्यो भन्दा अर्को कुनै उपाय हुन सक्दैन । अराजकता सिर्जना गर्नेहरुले देशलाई बर्वादीतर्फ लैजान खोज्दैछन् । यो चिज बुझ्नुपर्ने जरुरी छ,’– उनले भने ।

साथै, फरक प्रसंगमा उनले व्यवसायी मिनबहादुर गुरुङले पार्टीलाई दिएको दाने जग्गाको बचाउन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले मिनबहादुर पहिलेदेखि नै एमालेनिकट रहेको काम गरेको पनि उनको दाबी छ । एमालेले मिनबहादुरलाई २०६४ सालको संविधान सभाको निर्वाचनमा नै समानुपातिक सांसद बनाउन चाहेको पनि उनले स्मरण गराए । उनले कांग्रेस, माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको पार्टी कार्यालयसमेत दान, सहयोगबाट निर्माण भएको दाबी गरे । एमालेले लिएको दाने जग्गामाथि फत्तुर लगाउनुपर्ने जरुरी नरहेको उनको भनाइ छ ।

‘मिनबहादुरजी भनेको को मान्छे हो तपाईँहरु चिन्नुहुन्छ । खोटाङको मान्छे, हिजोदेखि नै उहाँ कुन स्वभावको हुनुहुन्थ्यो, थाहा भएको कुरा हो । तपाईँहरुलाई म एउटा तथ्य बताउन चाहन्छु– २०६४ सालको संविधान सभाको निर्वाचनको बेलामा पार्टीको तर्फबाट समानुपातिक सदस्य बन्नुस् भनेर प्रस्ताव गरिएको मान्छे हो उहाँ । उहाँले भन्नुभयो– म व्यवसायमा छु, म नजाने, अरु पार्टीकै साथीहरुलाई गर्नुस् । किन त्यसो भन्यो त पार्टीले भन्दा उहाँ सुरुदेखि नै विद्यार्थी संगठन, विद्यार्थी आन्दोलनमा लागेको, पार्टीसित सम्बन्धित रहँदै आएको व्यक्ति हुनुहुन्थ्यो । पछि व्यवसायमा लाग्नुभयो । उहाँले पारदर्शी ढंगले आफ्नो जमिन दिन्छु, घर बनाइदिन्छु भनिसकेपछि तपाईँहरु भन्नुस् लिने कि नलिने ? यो कहाँ अपमान भयो पार्टी पंत्तिलाई ? कसैले सहयोग गर्न चाहन्छ भने सहयोग लिने कि नलिने ?’ उनले नेता तथा कार्यकर्ताहरुलाई प्रश्न गरे । File Photo



प्रतिक्रिया दिनुहोस्