Logo

मिनबहादुरले एमालेको समानुपातिक सांसद पद अस्वीकार गरेको खुलासा



काठमाडौं, १५ कार्तिक । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले व्यवसायी मिनबहादुर गुरुङले २०६४ सालमा समानुपातिक सांसद अस्वीकार गरेको बताएका छन् । शुभ दिपावलीको अवसरमा एमाले ओखलढुङ्गा काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले मिनबहादुर विद्यार्थी कालदेखि नै एमालेको राजनीतिमा रहेको र ०६४ को संविधान सभा निर्वाचनमा त समानुपातिक सांसद नै प्रस्ताव गरिएको बताएका हुन् । एमालेले समानुपातिक सांसद प्रस्ताव गरेपनि उनले अस्वीकार गरेको वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ छ ।

बडा दशैंको अवसर पारेर एमालेलाई व्यवसायी गुरुङले काठमाडौंको कलङ्कीमा १० रोपनी १४ आना जग्गा दान दिएका थिए । सो जग्गा दान लिने दिने कार्यमा स्वार्थ रहेको भन्दै हाललाई अन्य काम कारबाही अगाडि नबढाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश समेत जारी गरिएको छ । यस्तो अवस्थामा एमाले पंतिमा चरम निराशा छाएको केन्द्रीय नेताहरुको अभिव्यक्तिले पुष्टि गर्छ ।

‘मिनबहादुरजी भनेको को मान्छे हो तपाईँहरु चिन्नुहुन्छ । खोटाङको मान्छे, हिजोदेखि नै उहाँ कुन स्वभावको हुनुहुन्थ्यो, थाहा भएको कुरा हो । तपाईँहरुलाई म एउटा तथ्य बताउन चाहन्छु– २०६४ सालको संविधान सभाको निर्वाचनको बेलामा पार्टीको तर्फबाट समानुपातिक सदस्य बन्नुस् भनेर प्रस्ताव गरिएको मान्छे हो उहाँ । उहाँले भन्नुभयो– म व्यवसायमा छु, म नजाने, अरु पार्टीकै साथीहरुलाई गर्नुस् । किन त्यसो भन्यो त पार्टीले भन्दा उहाँ सुरुदेखि नै विद्यार्थी संगठन, विद्यार्थी आन्दोलनमा लागेको, पार्टीसित सम्बन्धित रहँदै आएको व्यक्ति हुनुहुन्थ्यो । पछि व्यवसायमा लाग्नुभयो । उहाँले पारदर्शी ढंगले आफ्नो जमिन दिन्छु, घर बनाइदिन्छु भनिसकेपछि तपाईँहरु भन्नुस् लिने कि नलिने ? यो कहाँ अपमान भयो पार्टी पंत्तिलाई ? कसैले सहयोग गर्न चाहन्छ भने सहयोग लिने कि नलिने ?’ उनले नेता तथा कार्यकर्ताहरुलाई प्रश्न गर्दैै वरिष्ठ उपाध्यक्ष पोखरेलले भने ।



प्रतिक्रिया दिनुहोस्