काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी) ले आफ्नो व्यक्तिगत टेलिफोन सम्वाद र म्यासेजहरु सामाजिक सञ्जालमा सार्वजनिक भएकोप्रति आपत्ति जनाएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै पूर्व मन्त्रीसमेत रहेका अर्यालले केही दिन यता प्रधानमन्त्री, मन्त्री र विभिन्न दलका नेतासँग गरेको भेटघाटलाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि राजनीतिक दलका शीर्ष नेताहरुसँग भेट्नेक्रममा अर्यालले गत साता परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भेट्न चाहेको र भेटको समय मिलाइदिन उनको सचिवालयमा रहेका व्यक्तिलाई म्यासेज गरेको भन्दै म्यासेज सार्वजनिक भएको थियो । सोप्रति आपत्ति जनाउँदै अर्यालले कानूजनी प्रक्रियामा जाने चेतावनी दिएका हुन् ।
रवि लामिछानेको पक्राउ आवश्यक थियो वा त्यो राजनीतिक प्रतिशोधपूर्ण कदम थियो ? त्यो यो बहसको विषय बनिरहँदा सभापति कानूनी लडाईंमा भएको अर्यालको भनाइ छ। ‘र उहाँले कानूनी प्रक्रियाबाटै न्याय पाउनेमा हामी विश्वस्त छौं। सभापतिको अनुपस्थितमा पनि पार्टीका नियमित काम गर्नु र राजनीतिक मुद्दामा सरकार र विभिन्न दलका नेतासँग छलफल गर्नु हाम्रो जिम्मेवारी नै हो। जिम्मेवारी पूरा गर्दा एक पक्षीय ढंगबाट गलत मनसायका साथ गरिएको प्रचारप्रति दुःखित छु’ उनले भनेका छन्।
उनले बिना अनुमति अरुको सूचना सामाजिक सञ्जालमा राखेर मुलुकी अपराध संहिता २०७४ प्रतिकूल कार्य गरिएको बताएका छन्। सोही ऐनको दफा २९३ मा अर्काको कुरा सुन्न र ध्वनीअंकन गर्न नहुने, दफा २९७ मा टेलिफोनमा गरेको कुरा सुन्न नहुने र दफा २९८ मा विद्युतीय माध्यमद्वारा गोपनियता भंग गर्न नहुने व्यवस्था भएका उनले स्मरण गराएका छन् ।
‘मैले मेरो निजी टेलिफोनबाट कोसँग केके संवाद गरे र गर्दै छु भन्ने सूचना प्राप्त गर्नको लागि नियतबस नियोजित ढंगले गैरकानूनी र अनधिकृत रुपले मेरो अनुमति र स्वकृति बेगर जासुसी तरिकाले बद्नियतका साथ वैयक्तिक गोपनियता माथि दखल पुर्याएको हुँदा निजलाई कानूनी कारवाही गरियोस्। कानूनी प्रक्रियामा जाने नै छु’ उनले भनेका छन् ।
पोखराको सूर्यदर्शन सहशकारी लगायतका अन्य सहकारीको रकम अपचलनको आरोपमा पूर्व गृहमन्त्री समेत रहेका लामिछाने कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा छन् ।