Logo

भाइटीका लगाइदिँदा कुन दिशा फर्किने ? यस्तो छ पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक ढुङ्गेलको सुझाव (भिडिओसहित)



काठमाडौं, १६ कार्तिक । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज तिहारको कुनै पनि पर्व नरहेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले तिथिअनुसार लक्ष्मी पुजा हिजो नै सकिएको र आज खाली रहेर भोलिमात्रै गाई पुजा रहेको बताएका हुन् ।

‘यो वर्षको लागि गाई पुजा १७ गते शनिबार रह्यो । आज हामीलाई देउसी, भैलो खेल्नका लागि छुट छ । यो हाम्रो परम्परा हो । यसपाली देउसी, भैलो खेल्न दुई दिन पाइयो । गाई पुजा चाहीँ आज गर्न मिलेन,’– कार्यकारी निर्देशक ढुङ्गेलले भने ।

हिजो र आज दुवै दिन औशी नै रहेको बताउँदै उनले साँझ र रात दुवै एकै दिन परेको दिनमा मात्रै लक्ष्मी पुजा गर्न उपयुक्त हुने भएकाले हिजोलाई लक्ष्मी पुजाको लागि उत्तम दिन मानिएको उनको भनाइ छ । ‘लक्ष्मी पूजालाई औशी तिथि चाहिन्छ । मध्यरातमा जुन दिन औशी तिथि पर्छ, त्यही दिन गर्नुपर्छ । त्यसो भएको हुनाले १५ गते बिहीबारको दिन (हिजो) दिउँसो ३ बजेर १४ मिनेटबाट औशी तिथि सुरु भयो । साँझमा पनि औशी तिथि पर्यो, रातिमा पनि पर्यो । लक्ष्मीको बास हुनलाई साँझ र राति औशी परेको दिन नै पुजा गर्नुपर्छ । त्यस कारणले लक्ष्मी पुजाको कर्म हिजो नै सम्पन्न भयो,’– उनले भने ।

साथै, यस वर्ष भाई टीकाको साईत १८ गते आइतबार ११ बजेर ३७ मिनेटमा रहेको उनले बताए । दिदी बहिनीले दाजुभाईलाई टीका लगाउँदा त्यो दिनको चन्द्रमालाई लिएर कता फर्किएर लगाउने भनेर निर्णय लिनुपर्ने उनले बताए । शुभ र दाइना चन्द्रमा पार्दा कर्म सफल हुने उनले बताए । ‘दाजुभाइलाई उत्तर फर्काएर दाजुभाईलाई राखेर पश्चिम फर्किएर दिदीबहिनीले टीका लगाइदिने हो भने सबैभन्दा उत्तम हुन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्