काठमाडौं, १६ कार्तिक । सिस्नुपानी नेपालको देउसीभैलो कार्यक्रमलाई लिएर नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । व्यवसायी मिनबहादुर गुरुङले एमालेलाई दिएको १० रोपनी १४ आना दाने जग्गाको विषयलाई लिएर एमाले र सरकारलाई व्यङ्ग्य गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । हिजो (बिहीबार) प्रज्ञा प्रतिष्ठान कमलादीमा सिस्नुपानी नेपालले देउसीभैलो कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा प्रधानमन्त्री ओलीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सिस्नु्पानी नेपालले सन्तुलन मिलाएर व्यङ्ग्य नगरेको भन्दै उनले असन्तुष्टिसमेत पोखे । एमालेलाई व्यवसायी गुरुङले दिएको उक्त दाने जग्गा प्रथम दृष्टिमै गलत रहेको भन्दै सर्वोच्च अदालतले समेत दान हस्तान्तरणको काम अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरिसकेको छ । अदालतले प्रथम दृष्टिमै गलत रहेको भनिसकेको विषयमा व्यङ्ग्य गरिएकोप्रति पनि प्रधानमन्त्री ओलीको असन्तुष्टि थियो ।
सबै दलको कार्यालय बनाउन व्यवसायीहरुले दान दिएको स्मरण गराउँदै उनले भने, ‘अरु कुन पार्टी छ त्यस्तो जो बिना चन्दा पार्टी कार्यालय बनाएको छ ? कोही एक दुई जनाको चन्दाले बनेका होलान, कोही आठ १० जनाको चन्दाले बनेका होलान् ? त्यो पनि पहिलो दृष्टिमा नै गलत छ भनेर अदालतले भनिसकेपछि त सकियो त । किन व्यग्य गरिरहनुपर्यो ?’ File Photo/RN
यो पनि पढ्नुहोस्ः ‘भैंसी लड्यो है माया पानीजाज उडेर, मेची काली है माया चुच्चे रेल गुडेर’