काठमाडौं, १९ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव सुरेन्द्र झाले रवि लामिछाने पक्राउ प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वितण्ड मच्चाएको टिप्पणी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लामिछाने प्रकरणलाई लिएर रास्वपाले आफूहरुमाथि मात्रै अनुसन्धान भइरहेको जस्तो व्यवहार गरिरहेको बताएका हुन् । उनले पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेले न्यायलय र अनुसन्धान गर्ने निकायलाई सघाएर आफू आरोपबाट निर्दोष सावित हुनुपर्नेमा ताण्डव नृत्य गरिरहेको उनले बताए ।
‘यो प्रतिशोध अथवा कटाक्षको कुरा छैन । कुरा के हो भने रवि लामिछानेजी सामाजिक जीवनमा हुनुहुन्छ, सार्वजनिक जीवनमा हुनुहुन्छ । कुनै पनि प्रकारको प्रश्न उहाँतिर तेर्सियो भने स्वयं स्वस्फूर्त ढंगले यो प्रश्नको उत्तर म दिन्छु र कसैलाई शंका लागेमा अनुसन्धान गर भन्नुपर्ने मान्छे, त्यसमा उहाँ चुकेको भन्ने मलाई लाग्छ । अहिले जुन अनुसन्धान भइरहेको छ, त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीले ताण्डव गर्नुपर्ने आवश्यकत्ता छैन । उहाँहरु त खुसी हुनुपर्छ, सरकारलाई धन्यवाद दिनुपर्छ र जनतालाई भन्नुपर्छ– तपाईँहरु पर्खेर बस्नुस् । ममाथि राज्यले अनुसन्धान गर्दैछ । यो राज्यको अंग म पनि हुँ, किनभने संसद्को सदस्य हुँ, पूर्व गृहमन्त्री हुँ । त्यसैले मलाई विश्वास छ, यहाँको छानविन गर्ने निकाय, न्यायालयप्रति विश्वास छ, म निर्दोष सावित भएर आउँछु भन्नुपर्ने हो । त्यसको विपरीत उहाँले रास्वपाका नेताहरुमाथि मात्रै अनुसन्धान त भइराखेको छैन नि ?’ उनले भने ।
बालकृष्ण खाँड, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझीलगायतका नेताहरु अनुसन्धानको क्रममा तानिएको र जेल जीवन बिताएको स्मरण गराउँदै उनले रविको विषयलाई लिएर रास्वपाका नेताहरुले वितण्ड मच्चाउनुको औचित्य नरहेको बताए । उनले भने, ‘थुप्रै पार्टीका नेताहरु जेल जानुभयो । अनुसन्धान भयो । अनुसन्धान जारी छ । रास्वपाको पनि एउटा व्यक्ति रवि लामिछानेमाथि राज्यले अनुसन्धान गर्दैछ । त्यसको लागि के ताण्डव मच्चाउने ? वितण्ड मच्चाउने ? व्यवस्था नै खराब भयो, सकियो भनेर हाउँगुजी फिजाउन के जरुरी छ ?’