Logo

रवि लामिछाने धरौटीमा छुट्ने वरिष्ठ अधिवक्ता पण्डितको दाबी (भिडिओसहित)



काठमाडौं, १९ कार्तिक । वरिष्ठ अधिवक्ता गान्धि पण्डितले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटीमा रिहा हुने दाबी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आर्थिक अपराध र सहकारी ठगीमा धरौटी दिनैपर्ने सर्वोच्च अदालतको व्याख्या रहेको दाबी गरेका हुन् । ‘सहकारी ठगी वा आर्थिक कारोबार अपराधमा धरौटी दिनैपर्छ भन्ने सम्मानित अदालतले भनेको छ । यो मुद्दा जानेबित्तिकै धरौटीमा निस्किने कुरा हो,’– वरिष्ठ अधिवक्ता पण्डितले भने ।

सहकारी ठगी सम्बन्धमा छानविन गर्न बनेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदनले सहकारी ठगीमा उनको संलग्नता नरहेको पुष्टि गरेको अधिवक्ता पण्डितको भनाइ छ । कम्पनीमा आएको पैसाको सन्दर्भमा मात्रै लामिछानेलाई दायित्व बहन गराउन सकिने र गोर्खा मिडियाको कुनै शेयर होल्डर वा कम्पनी रजिष्टार कार्यालयको उजुरीका आधारमा मात्रै कम्पनीको रकम हिनामिना गरेकोमा लामिछानेमाथि मुद्दा चल्नसक्ने उनले बताए । गोर्खा मिडियाको अडिट रिपोर्टमा सहकारीबाट आएको उक्त रकम रवि लामिछानेले ऋण दिएको उल्लेख रहेको उनको दाबी छ ।

‘संसदीय छानविन समितिले सहकारीबाट प्रत्यक्ष पैसा आएको देखिँदैन । तर, सहकारीको पैसा कम्पनीमा आयो, कम्पनीमा आएको पैसा सञ्चालकको तर्फबाट छविलाल जोशी र रवि लामिछानेले गरेको हुनाले प्रचलित कानुनअनुसार अनुसन्धान गर्नु भनेर भन्यो,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्