काठमाडौं, १९ कार्तिक । पाँचथर याङवरक गाउँपालिका– ३ कि मायादेवी चौहान खत्रीले आफ्नो श्रीमान भीमकुमार चौहानलाई प्रहरी प्रशासनले लागू औषध कारोबारको झुठा मुद्दामा फसाएको आरोप लगाएकी छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले गत साउन ३१ गते आफ्ना श्रीमानलाई प्रहरीले जडिबुटीबाट पक्राउ गरेको बताएकी हुन् । मायादेवीका अनुसारर भीमकुमार पासपोर्ट र मोटर साइकलाको बिलबुक रिन्यू गर्नका लागि काठमाडौं आएका थिए ।
उनीसँगै सोही ठाउँका राजकुमार योहाङ पनि थिए । भीमकुमारको नागरिकताका आधारमा उनीहरुले जडिबुटीको कोजी होटलमा कोठा बुक गरे । सोही क्रममा राजकुमारको चिनजान रहेका भीम चेमजोङलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको मायादेवीले् बताईन् । मायादेवीका अनुसार भीमकुमार चौहानले नागरिकताको आधारमा कोठा बुक गरेकै कारण समातिएको थियो । मायादेवीले आफ्ना श्रीमान गाउँमै काठको व्यपार व्यवसाय गर्दै आएको र अहिलेसम्म त्यस्तो गतिविधिमा कहिले पनि संलग्न नरहेको दाबी गरिन् । उनले आफ्नो श्रीमानलाई प्रहरीले सुनियोजित रुपमा फसाएकोसमेत आरोप लगाईन् ।
‘मेरो श्रीमानलाई सुनियोजित ढंगले फसाइएको हो । राजकुमार योङहाङलाई मात्रै मेरो श्रीमानले चिन्नुहुन्थ्यो । मेरो श्रीमान काठको व्यापार गर्नुहुन्थ्यो । सोही क्रममा राजकुमारसँग चिनजान भएको थियो । हामी सामान्य किसान हौं । मेरो श्रीमानलाई फसाइयो,’– मायादेवीले भनिन् ।
भीम चेमजोङ लागू औषध कारोबारको मुख्य नाइके भएको दाबी गर्दै उनले उनीहरुलाई प्रहरी प्रशासनले बचाएर आफ्नो श्रीमानलाई फसाएको बताईन् ।