Logo

भ्रष्टाचारको जड संसदीय व्यवस्था हो, यसलाई नफ्याँके जनताले राजालाई स्पेस दिन्छन्ः सुन्दरमणि दीक्षित (भिडिओसहित)



काठमाडौं, नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले भ्रष्टाचार नियन्त्रणका लागि वर्तमान संसदीय व्यवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको लागि संसदीय व्यवस्था नै अभिशाप बनेको बताएका हुन् । संसदीय व्यवस्था अन्त्य नभएसम्म पार्टी, नेता र व्यक्ति परिवर्तन गरेर कुनै फरक नपर्ने बताए । उनले २००७ सालदेखि नेपाल संसदीय व्यवस्थाको अभिशापबाट बाहिर निस्कन नसकेको बताए ।

‘यो संसदीय व्यवस्था भ्रष्टाचारको लागि र भ्रष्टाचार संसदीय व्यवस्थाको लागि नै हो । यही हो हाम्रो जड, यो व्यवस्था नफ्याँकेसम्म व्यक्ति, पार्टी, नेता परिवर्तन गरेर केही फरक हुनेवाला छैन । किनभने आज भ्रष्टाचारको पैसाबाट जित्छन्, संसद्मा पुग्छन्, संसद्बाट अर्को भ्रष्टलाई मन्त्री बनाउँछन् । प्रधानमन्त्री पनि भ्रष्ट, मन्त्री पनि भ्रष्ट । यो साइकलबाट हामी निस्किन सकिरहेका छैनौं । यसलाई खत्तम नपारी कुनै हालतमा भ्रष्टाचार अन्त्य हुनसक्दैन,’– उनले भने ।

संसदीय व्यवस्थाको अन्त्य गरेर अब प्रत्यक्ष कार्यकारी प्रणालीमा जानुपर्ने उनको भनाइ छ । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री बनाउने र संसद् बाहिरबाट विज्ञ मन्त्रीहरु बनाउन आवश्यक रहेको बताए । ‘हामीले अब कार्यकारी व्यक्तितिर नगई हुँदैहुँदैन । मन्त्रीहरु सबै संसद् बाहिरबाट ल्याउने, पोलिसी बनाउनका लागि सानो संसद बनाउने, हामीले कार्यकारी राष्ट्रपति व्यवस्थामा जानुपर्छ,’– उनले भने ।

साथै, उनले संसदीय व्यवस्थाबाट आजित भएर जनताले राजालाई स्पेस दिन खोजिरहेको बताए । उनले अहिले धेरै जनतामा त्यो प्रकारको चाहना रहेको दाबी गरे । संसदीय व्यवस्थाको विकल्प नखोज्ने हो भने जनताले विकल्प खोज्ने उनको भनाइ छ । ‘राजालाई कुनै स्पेस दिने हो भने, अहिले त्यो चाहना मान्छेमा देख्छु म, घर–घरमा त्यो चाहना छ । कमसेकम राजपरिवारसँग २ सय वर्षको अनुभव छ । उनीहरुले कही न केही सल्लाह, सुझाव दिनसक्छन्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्