Logo

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले बाजी मार्ने कांग्रेस नेताको दाबी (भिडिओसहित)



काठमाडौं, २० कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व परराष्ट्रमन्त्री डा.नारायण खड्काले अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको सम्भावना बढी रहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ट्रम्पलाई पुँजिपति वर्ग र ह्वाइट अमेरिकनहरुको समर्थन रहेकाले उनको सम्भावना प्रवल रहेको बताएका हुन् । नेता खड्काले डेमोक्र्याटिक पार्टीकी उम्मेदवार वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई निम्न र मध्यम वर्गीय अमेरिकनहरुको मात्रै समर्थन रहेको बताए । उनले अमेरिकाका पुँजिपति र ह्वाइटहरुको दिमाग कन्जरभेटिभ रहेको बताए । अमेरिकामा अझै महिला राष्ट्रपति बन्ने बेला नभइसकेको उनीहरुको सोचाइरहेको नेता खड्काले बताए । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ।

‘कमला ह्यारिसले जितिन् भने बाइडेनकै पोलिसी कन्टिन्यू हुन्छ । ट्रम्पले जित्दाखेरी आप्रवासीदेखि लिएर करका कुराहरु, ठूला–ठूला उद्योगपतिहरुलाई समर्थन गर्नेदेखि लिएर गरिबीका कुराहरु, साना व्यापारीका कुराहरुमा थुप्रै विषयमा नीतिगत भिन्नता छ । ..कमला ह्यारिसको प्रवल सम्भावना देख्दिँन । अमेरिकनहरु अलिकति कन्जरभेटिभ, त्यहाँका ह्वाइट अमेरिकनहरु कन्जरभेटिभ छन् । अहिले पनि ट्रम्पकै दृष्टिकोण पनि महिलाको बारेमा अलिकति हेपाहा खालको दृष्टिकोण छ, तपाईँ हामीले सुनेकै छौं,’– उनले भने, ‘मध्यम र न्यून आय भएका व्यक्तिहरुको समर्थन कमला ह्यारिसलाई हुन्छ । घरानिया, पुँजीपति वर्ग र ह्वाइटहरुको विचार महिला राष्ट्रपति हुने समय आएको छैन भन्ने छ ।’



प्रतिक्रिया दिनुहोस्